चाडपर्वमा हजारौंको संख्यामा पक्राउ पर्छन् जुवाडे


काठमाडौं – दसैंतिहार नेपाली समाजमा चाड मात्र होइन, भेटघाट र रमाइलो गर्ने सुनौलो अवसर पनि हो । लामो समयपछि गाउँघर फर्किएका परिवारका सदस्यहरूबीचको भेटघाटले उत्सवलाई अझै रंगिन बनाउँछ । तर, यिनै चाडपर्वसँगै एक अर्को चलन पनि बलियो हुँदै गएको छ, जुवा र तासको मोह ।

गाउँघरमा भेला भएका पुरुषहरू ‘रमाइलो’को नाममा तासका पत्ती पल्टाउन थाल्छन् । सुरुवात सामान्य देखिए पनि चाडपर्वको उमंगसँगै खेललाई नै मुख्य आकर्षण मान्ने प्रवृत्ति बढ्दो छ । गाउँदेखि सहरसम्म फैलिएको यो चलन अहिले प्रहरीका लागि पनि चुनौती बन्दै गएको छ । प्रहरीका अनुसार, बडादसैं नजिकिएसँगै देशभरि जुवातास खेल्नेहरूको सक्रियता बाक्लो देखिएको छ । यस्तै गैरकानुनी गतिविधि नियन्त्रण गर्न विशेष अभियान सुरु गरिएको भए पनि, पछिल्ला दिनहरूमा दिनहुँ जसो पक्राउ पर्नेहरूको संख्या बढ्दो छ ।

विगत वर्षहरूमा पनि दशैंतिहारको मुखमै जुवा–तासको तिव्रता देखिँदै आएको थियो। यस वर्ष पनि त्यसको दोहोरिनु समाजमा चाडबाडसँग गाँसिएको ‘जुवातास संस्कृति’ बढ्दो संकेत हो । रमाइलो र उत्सवको नाममा सुरु हुने यो गतिविधि कतिपयका लागि केवल मनोरञ्जन भए पनि, यसको असर आर्थिक हानीदेखि परिवारमा झगडा र सामाजिक समस्या बढाउनेसम्म पुगेको उदाहरण थुप्रै भेटिन्छन् । यसरी, दसैं–तिहारको खुशीसँगै लुकेर आउने जुवातासको लत अब व्यक्तिगत रोजाइ मात्र नभई सामाजिक चिन्ताको विषय बन्न थालेको छ । 

प्रहरीले दसैंलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत गस्ती, निगरानी र सूचनाका आधारमा अपरेसन चलाइएको छ । तर पनि जुवातास खेल्नेहरूमा कमी छैनन् । प्रहरीले नागरिकलाई गैरकानुनी गतिविधिमा संलग्न नहुन चेतावनीसमेत दिएको छ । विभिन्न स्थानहरूमा प्रहरीले सादा पोशाकमा नै डिउटीमा खटिएर पनि काम गरेका छन् । उपत्यकामा मात्र नभई देशका अन्य सहर तथा ग्रामीण क्षेत्रहरूमा समेत स्थानीय प्रहरी निकायहरूले यस्ता गतिविधिहरू नियन्त्रण गर्न विशेष योजना बनाएका छन् ।

चाडपर्वमा हुने यस्ता क्रियाकलापले सामाजिक सद्भावमा असर पार्ने भएकाले प्रहरी थप सतर्क भएको प्रहरीले जनाएको छ । चाडपर्वमा देखिने यस्तो प्रवृत्ति सामाजिक र आर्थिक दृष्टिले पनि नकारात्मक हो । दसैं रमाइलोको चाड भए पनि जुवा–तास जस्ता गतिविधिले परिवारमा तनाव, ऋण, झैं–झगडा र आपराधिक क्रियाकलापलाई निम्त्याउनुका साथै, आफ्नो भएको सम्पत्तिको पनि नाश हुने अवस्थाको सिर्जना गर्नु रहेको सरोकारवाला बताउँछन् । 

नेपालमा जुवा–तास तथा सट्टेबाजी खेल्नेविरुद्ध प्रहरीले लिइरहेको कडाइबीच हरेक वर्ष हजारौँ व्यक्ति पक्राउ पर्ने गरेका छन् । तर पनि वर्षेनी जुवातास खेल्नेहरूमा पक्राउ पर्नेहरूको संख्यामा भने कमी नआएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार, प्रत्येक वर्ष औसतमा ४ सयभन्दा बढी जुवा ताससम्बन्धी मुद्दा दर्ता हुने गरेको छ, भने ३ हजारभन्दा बढी व्यक्ति पक्राउ पर्ने गरेका छन् । जसमा पनि सबैभन्दा बढी जुवाडेहरू दसैं तिहारमा पक्राउ पर्ने गरेको प्रहरीका प्रवक्ता विनोद घिमिरे बताउँछन् ।

धेरैजसो जुवाडेहरू गोप्य स्थानहरूमा, निजी घरदेखि होटल र रिसोर्टसम्ममा जुवा खेल्ने गरेका छन् । तर दसैं तिहारको समयमा भने यस्ता जुवाडेहरू खुल्ला ठाउँमा नै बसेर जुवातास खेल्ने गरेका छन् । तर चाडपर्व विशेषमा गाउँघरमा खुल्ला ठाउँमा नै जुवातास खेल्ने गरेको सरोकारवालाहरू बताउँछन् । यस्ता जुवातास खेल्ने क्रममा पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । तर पनि जुवातास खेल्नेहरूको संख्यामा कमी आएको छैन् । 

प्रहरीको तथ्यांकको अनुसार, आर्थिक वर्ष ०७६\७७ मा मात्र ४ सय ७७ वटा मुद्दा दर्ता भएका थिए, भने ३ हजार ५ सय ८४ जना जुवाडे पक्राउ परेका थिए । जसमा ३ हजार ५ सय ७२ जना स्वदेशी र १२ जना पक्राउ परेका थिए । त्यसपछिका वर्षहरूमा पनि यस्तै प्रवृत्ति दोहोरिएको देखिन्छ । त्यस्तै, आव ०७७\७८ मा ४ सय ९५ वटा मुद्दा दर्ता भएको थियो, भने ३ हजार ४ सय ५६ जना पक्राउ परेका थिए । त्यसमा ३ हजार ४ सय ४० जना स्वदेशी र १५ जना विदेशी पक्राउ परेका थिए । 

त्यस्तै, आव ०७८\७९मा प्रहरीमा ४ सय ३० वटा मुद्दा दर्ता भएको थियो, भने सो वर्षमा ३ हजार २ सय २३ जना जुवाडेहरू पक्राउ परेका थिए । जसमा ३ हजार २ सय ५ जना स्वदेशी र १८ जना विदेशी नागरिकहरू पक्राउ परेका थिए । आव ०७९\८० मा जुवातास खेल्न वा सट्टावाजी गर्न नहुने कसुरमा ३ सय ४२ वटा मुद्दा दर्ता भएको थियो, भने २ हजार २ सय ५८ जना पक्राउ परेका थिए । उक्त आवमा २ हजार २ सय ५५ जना स्वदेशी र ३ जना विदेशी नागरिक पक्राउ परेका थिए ।

साथै, आव ०८०\८१मा ३८९ वटा मुद्दा दर्ता भएको थियो, भने २ हजार ८ सय ५३ जना पक्राउ परेका थिए । त्यसमा २ हजार ८ सय ३९ जना स्वदेशी र १४ जना विदेशी नागरिक पक्राउ परेका थिए । गत आव ०८१\८२ मा जुवातास खेल्न नहुने कसुरमा ३ सय ९१ वटा मुद्दा दर्ता भएको थियो, भने ३ हजार १६ जना जुवाडेहरू पक्राउ  परेका थिए । गत आवमा २ हजार ९ सय १५ जना स्वदेशी र १ सय १ जना विदेशी नागरिक पक्राउ परेका थिए । 

त्यस्तै, जुवा खेल्न प्रयोग भएका सवारीसाधन, मोबाइल फोन, पैसा लगायतका सम्पूर्ण चलअचल सम्पत्ति जफत गरिने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । धेरैजसो अवस्थामा जुवामा हारेर आफूसँग भएको सम्पत्ति गुमाउने मात्र होइन, पक्राउ परेपछि त्यो सम्पत्ति अरूकै नाममा जाने भएता पनि जुवाडेको संख्यामा कमी आएको छैन । उल्टै अरूको सम्पत्ति जितिन्छ भने, सोच राखेर लाखौँको सम्पत्तिहरू गुमाउँदै आइरहेका छन् । जसले गर्दा परिवारको स्थितिमा समेत गम्भीर असर पार्दै आइरहेको छ । 

त्यसैले गर्दा जुवातास नखेलुन् भन्दै विभिन्न कानुनी व्यवस्था समेत गरिएको छ, तर पनि जुवातास जस्ता अवैध क्रियाकलापमा संलग्न हुनेहरूको संख्यामा कमी आएको छैन् । त्यसैमा पनि यसपालि त जेनजी आन्दोलनको मैका छोपेर कारागारबाट भागेका ६ हजार अपराधीहरू खुलेआम हिँडिरहेका छन् । त्यसैले गर्दा त्यसपालि झनै बढी जुवाडेहरूर पक्राउ पर्ने आङ्कलन प्रहरीले गरेको छ । 

मुलुकी अपराध संहिता २०७५ अनुसार, नेपालको कानुनमा पहिलो पटक जुवा खेल्दा पक्राउ परेमा सम्बन्धित व्यक्तिलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक पक्राउ परेमा यो सजाय झनै कडा हुँदै एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । 

त्यसैगरी, दोहोरिएर तेस्रो पटक वा सोभन्दा बढी पटक पक्राउ परेमा हरेक पटक थप तीन–तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना थपिने प्रावधान रहेको छ । जुवा तासको बढ्दो लतले सामाजिक, पारिवारिक तथा आर्थिक स्तरमा गम्भीर असर पार्न थालेको छ । चाडपर्वमा मानिसहरूसँग केही अतिरिक्त रकम हुने भएकाले लाखौँको बाजीसहितको जुवा चल्ने गरेको पाइएको हो ।