काठमाडौं – चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्वलक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ। चाडपर्वको सन्दर्भमा अपराध नियन्त्रण र जनसुरक्षा सुनिश्चित गर्न मधेस प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रदेशका आठै जिल्लामा कूल ६ हजार ५३२ जना प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ । खुला सिमाना, सम्भावित आन्दोलन, भिडभाड हुने स्थान तथा संवेदनशील क्षेत्रहरूलाई प्राथमिकता दिँदै सुरक्षा रणनीति बनाइएको छ।
बैंक, वित्तीय संस्था, बजार, मेला तथा धार्मिक स्थलहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको हो । प्रहरी कार्यालयका अनुसार चाडपर्वमा चोरी, ठगी, सवारी अव्यवस्था तथा अन्य आपराधिक गतिविधिहरू बढ्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको छ। सुरक्षामा कुनै कमजोरी नहोस् भनेर सादा पोशाकका प्रहरी, सशस्त्र टोली र ट्राफिक प्रहरीहरू समेत व्यापक रूपमा परिचालन हुनेछन्।
प्रदेश प्रहरी कार्यालयले स्थानीय प्रशासन, नागरिक समाज र सर्वसाधारणसँग पनि सहकार्य गर्दै सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ । यस सुरक्षात्मक तयारीले चाडपर्वको उत्सव भयरहित र व्यवस्थित बनाउन ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






About Us
प्रतिक्रिया