दसैं, तिहार र छठभरि ‘डिजिटल वालेट’ मा दैनिक ४० पटकसम्म रकम जम्मा गर्न पाइने


काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।

हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दसैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

अब सेवाग्राहीले दसैंको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने छन् ।

साथै,साे अवधिसम्म भएको कारोबारको संख्या र कारोबारको कुल रकम केन्द्रीय बैंककाे भुक्तानी प्रणाली विभागमा जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई संस्थालाई निर्देशन दिइएको छ।