बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ वर्षका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । यहि साउन १६ गतेदेखि २०८१ को साउन १६ गतेसम्म तीन सय ६५ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया