काठमाडौं – नेपालीहरूको महान् चाड दसैं नजिकिँदै गर्दा बजारहरूमा भीड बढेको छ, यात्रुहरूले टिकटको खोजीमा लाइन थामिरहेका छन्, र सहरदेखि गाउँसम्म चाडपर्वको रौनक फैलिएको छ । अधिकांश नेपाली घर कहिले जाने, के–के किन्ने र कसरी रमाइलो गर्ने भन्ने ध्याउन्नमा छन् । तर यसैबीच, जनताको सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले भने दसैंलाई सामान्य भन्दा फरक दृष्टिले हेर्छ ।
यो उनीहरूका लागि विश्रामको समय होइन, बरु झनै बढी सतर्कता र जिम्मेवारीको समय हो । अपराध नियन्त्रण, जनसुरक्षा र शान्ति–व्यवस्था कायम गर्न प्रहरीहरू दसैंमा पनि दिनरात खटिएका हुन्छन् । यात्रु चाप बढ्दा दुर्घटनाको जोखिम नियन्त्रणदेखि चोरी, ठगीजस्ता अपराध रोक्नेसम्म, प्रहरी सेवामा कार्यरतहरूलाई यो समय झन् चुनौतीपूर्ण हुन्छ ।
तर, यसैबीच, जनताको सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले भने दसैंलाई सामान्य भन्दा फरक दृष्टिले हेर्छ । यो उनीहरूका लागि विश्रामको समय होइन, बरु झनै बढी सतर्कता र जिम्मेवारीको समय हो ।
तर, ड्युटीमा व्यस्त रहे पनि उनीहरू चाडलाई पूर्णरुपमा छुटाउँदैनन् । प्रहरी कार्यालय वा चौकीमै आलोपालो गरेर टीका थाप्ने, मिठो मसिनो खाने र जमरा साटासाट गर्ने दृश्य सहजै देख्न सकिन्छ । त्यो पनि ड्युटी तालमेल मिलाउँदै दसैं मनाउनुपर्ने हुन्छ। कसैले बिहान काम गर्छन्, कसैले बेलुकी, तर पर्वको आत्मीयता भने त्यहीँ बाँडिन्छ ।
यद्यपि, उनीहरूको मन भने प्रायः घरमै हुन्छ । आमा–बुबाले छोराछोरीको मुख हेर्ने चाहना गरेका हुन्छन्, पत्नीले पतिसँगै टीका लगाउने सपना देखेकी हुन्छिन्, छोराछोरीले बाबु के ल्याइदेलान् भनेर बाटो हेरिरहेका हुन्छन् । ड्युटीमा खटिएका प्रहरी मात्र होइन, उनीहरूको परिवारजनले पनि पर्वमा आफ्नो खुसी त्याग गरिरहेका छन् ।
यसरी, जहाँ एकातिर लाखौँ नेपालीहरू परिवारसँग चाड मनाउँदै रमाइरहेका हुन्छन्, अर्कोतिर प्रहरी परिवारहरूले ड्युटी र जिम्मेवारीलाई प्राथमिकता दिँदै भित्रभित्रै चाडपर्वको बलिदान गरेका हुन्छन् । यही समर्पणका कारण नै, दसैंको रमाइलो सुरक्षित र शान्त वातावरणमा सम्भव हुने गर्दछ ।
नेपाल प्रहरीमा करिब ८० हजार जनशक्ति छन् । तर, दसैंजस्तो पर्वमा पनि उनीहरूलाई आराम होइन, कर्तव्यमै खटिनुपर्छ। जनताको उत्सव सुरक्षित बनाउन प्रहरी आफैँले उत्सवको खुसी त्याग्नुपर्ने बाध्यता हुन्छ ।
जेनजी आन्दोलनकै क्रममा १४ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट भागे। तीमध्ये करिब ७ हजार फेरि पक्राउ परे पनि अझै ६ हजारभन्दा बढी कैदी फरार छन् । यसले दसैंको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन् । उनका अनुसार, यसपालि विगतको तुलनामा झनै व्यापक सुरक्षा व्यवस्था गर्नुपर्ने भएको छ । ‘हरेक चाडपर्वमा चोरी–डकैती बढ्छन्, तर यस पटक अवस्था अझ गम्भीर छ,’ उनले भने ।
सामान्यतया दसैं भनेको परिवारसँग खुसी साट्ने पर्व हो। तर प्रहरी संगठनका लागि भने यो पर्व जिम्मेवारीको अर्को नाम हो। फरार कैदीहरूको खोजी, आन्दोलनबाट हुन सक्ने अप्रिय घटनाको नियन्त्रण र आम नागरिकलाई सुरक्षित वातावरण दिन प्रहरीलाई चौबिसै घण्टा खटाइनेछ। यसपालि विशेषगरी धार्मिक स्थल, भिडभाड हुने बजार र प्रमुख राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति देखिनेछ ।
यस वर्ष सुरक्षाका चुनौतीहरू गत वर्षको तुलनामा अझ बढ्ने प्रहरी प्रशासनको अनुमान छ । जेनजी आन्दोलनका प्रदर्शनले देशलाई विषम परिस्थितिमा धकेलेको छ । प्रहरीका भवनहरूमा तोडफोड, प्रहरीका पाेशाकहरू खरानी—यी दृश्यहरूले सुरक्षाकर्मीलाई मात्र होइन, सम्पूर्ण व्यवस्थालाई हल्लाइरहेको छ ।
यस कारण धेरै प्रहरीलाई दसैंमा घर फर्कने अवसर नै प्राप्त हुँदैन । एक प्रहरी अधिकृत भन्छन्, ‘हामीलाई पनि परिवारसँगै पर्व मनाउन मन लाग्छ, तर परिस्थितिले अनुमति दिँदैन। जनताको सुरक्षा पहिलो प्राथमिकता हो ।’ प्रहरीका लागि दसैं बिदाको पर्व नभई, सुरक्षाको पर्व बन्न पुगेको छ ।
देशभरका नागरिक परिवारसँग रमाइलो गरिरहेका बेला प्रहरी भने चौबीसै घण्टा मुलुकको सुरक्षा सुनिश्चित गर्न खटिएका हुन्छन् । गत वर्ष काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै ३ हजार ७६५ जना प्रहरी परिचालन गरेको थियो। यसपालि आर्थिक तथा वित्तीय अपराध बढ्ने आशंकाले अझ बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएको छ ।
ड्युटीमा खटिएका प्रहरी मात्र होइन, उनीहरूको परिवारजनले पनि पर्वमा आफ्नो खुसी त्याग गरिरहेका छन्।
यद्यपि प्रहरीलाई चाडको अनुभूति पूर्णरूपमा हराउँदैन। घरभन्दा टाढा खटिएका प्रहरी सहकर्मीबीच नै टीका–जमरा लगाएर उत्सव बाँड्छन्। जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी बिटसम्म सामूहिक टिका कार्यक्रम हुन्छ, जहाँ प्रमुखकै हातबाट टिका ग्रहण गरेर उनीहरूले कर्तव्यमै दसैं मनाउँछन्। परिवार नजिकै खटिएकाहरूले भने केही घण्टाका लागि मात्रै घर पुग्ने मौका पाउँछन् ।
यसरी, जब देश दसैंको रौनकमा डुबिरहेको हुन्छ, प्रहरी संगठन भने सुरक्षाको चौकी सीमा तल्लीन हुन्छ । यो नै प्रहरीको दसैं हो, कर्तव्यसँगै बाँधिएको, जिम्मेवारीमै डुबेको र जनताको विश्वासमा अडिएको ।
काठमाडौंमा काम वा पढाइका लागि बस्ने प्रायः मानिसहरू दसैंमा घर फर्कन्छन्। सर्वसाधारण घर गएका बेला राजधानीका कोठा बासहरू प्रायः खाली हुने भएकाले विगतमा त्यस्ता कोठामा चोरी–लुटपाट हुने घटना बारम्बार दोहोरिएको छ । यस वर्ष यस्ता घटनाको सम्भावना झन् बढ्न सक्ने सरोकारवालाहरूको अनुमान छ।
त्यसैले, उपत्यकामा पनि प्रहरीलाई गत वर्षको भन्दा बढी संख्यामा खटाइने तयारी गरिएको छ । दसैंका बेला राजधानीमै परिवारसहित बस्ने प्रहरीहरूलाई टिका थाप्न केही समय परिवारमा पुग्ने मौका मिल्छ । तर, उपत्यकाबाहिर परिवार भएका अधिकांश प्रहरीको दसैं भने ड्युटीमै बित्ने गर्छ ।






About Us
प्रतिक्रिया