एकैदिन बैंकिङ्ग निक्षेप २७ अर्ब बढ्यो, अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत

‘सिडि रेसियो ७५.५७ प्रतिशत’


काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकैदिन २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असाेज २ गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । 

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन २७ अर्बले बढेर ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असाेज १ गते बुधबार सम्म बैंक तथा वित्तीय संस्थामा ७३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकैदिन २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ६५ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६६ खर्ब ०४ अर्ब रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकिङ्ग प्रणालीमा २७ अर्ब निक्षेप थपिँदा १ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब ४ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुबै घटेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७५.५७ बिन्दुमा झरेको छ ।