काठमाडौं – ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए।अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरूका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएको संरचनाहरू समेत पीडामा रहेको बताए ।
‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’
‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ रु समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउँछौँ,’ अध्यक्ष पाण्डेले भने । नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरू बिदेसिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरू बिदेसिने गरेको उनको भनाई थियो।
‘नेपालमा जब भएन भन्छौँ, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौँ । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाइबहिनीहरू कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’
राज्यका संयन्त्रहरूले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जबाफदेहिता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जबाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे ।
‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’
हिजो सरकारी संयन्त्रहरूमा रहेको भ्रष्टाचार अहिले निजी क्षेत्रमा समेत व्याप्त भइरहेको बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुँदै निजी क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने । जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शिता हुनुपर्ने बताए ।
भ्रष्टाचार निकै व्याप्त भएको बताउँदै अहिलेका बच्चाहरू कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्को दिनदेखि जाँदैन ।’बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए ।
सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै वृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरूमा समेत नेपालको तुलनामा निकै बढी पर्यटक आउने गरेको उनले बताए ।पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पूर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।



About Us
प्रतिक्रिया