एक महिनामा ५५ अर्बले घट्यो बैंक निक्षेप


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब बढीले घटेकाे छ । केन्द्रीय बैंककाे तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड (०.८ प्रतिशत) ले घटी ७२ खर्ब ०८ अर्ब ९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको थियो ।

यस्तै, वार्षिक विन्दुगत आधारमा २०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।

२०८२ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको थियो।