काठमाडौं – पुँजी बजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सम्पूर्ण लगानीकर्ताहरूले सुझाव दिएका छन् । शेयर बजारमा आएको अस्वाभाविक गिरावट सम्बन्धी ध्यानाकर्षण तथा आवश्यक कदम चाल्न लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एम.पी. चौलागाईँ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन) लगायत पुँजीबजारका ३ संगठनले गभर्नरलाई सुझाव दिएका हुन् ।
हालैको राजनीतिक घटनाक्रमपछि केही समयको अन्तराल पश्चात् असोज २ गतेदेखि शेयर बजार (नेप्से) पुनः कारोबारका लागि खुलाउँदा पूर्व तयारी र उचित सतर्कता बिना बजार खुलाएकै दिन करिब ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दै, ७२ करोड मात्र कारोबार भई, १६० अंकभन्दा बढी सूचकांकमा ह्रास भई करिब ३ खर्व पुँजीकरण ह्रास भएको तथ्य सबै लगानीकर्ताहरूका साथै राष्ट्रको समेत चिन्ताको विषय बनेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेको नेपालको पुँजी बजारलाई सुरक्षित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने यात्रामा नेपाल राष्ट्र बैंकको सक्रियता अपरिहार्य रहेको लगानीकर्ता बताउँछन् ।
यसरी अचानक शेयर बजारमा आएको ठुलो गिरावटका कारण बजारमा त्रास फैलिनुसँगै आम लगानीकर्ताहरूले आफ्नो पुँजीको ठुलो अंश गुमाउनु परेको र मनोवैज्ञानिक रूपमा निराश भएको अवस्था रहेको बताएका छन् ।यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकको ठोस पहलले मात्र लगानीकर्ताको विश्वास पुनः स्थापित हुने विश्वास लगानीकर्ताहरूले राखेका छन् । यसै विषयमा पुँजी बजारमा संलग्न लगानीकर्ताहरू तथा सरोकारवाला संघ -संस्थाहरूको तर्फबाट गभर्नरलाई ६ बुँदे सुझावहरू दिएका छन्
जसमा बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने त्यसैगरी, व्यक्तिगत शेयर धितो कर्जा खारेज गर्ने, त्यस्तै, लघुवित्त संस्थाको लाभांश वितरण, बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानीको सीमालाई कायम राख्ने र बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई प्रवाह गर्ने शेयर कर्जा वृद्धि, साथै, गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने जस्ता ६ बुँदे सुझाव लगानीकर्ताहरूले गभर्नरलाई दिएका छन् ।
साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा सहभागी हुन र पुँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक छ। यसका लागि विद्यमान नीतिगत प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा खरिद र विक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्ने यसले बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र होइन, सम्पूर्ण पुँजी बजारलाई स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुने लगानीकर्ताको सुझाव छ ।








About Us
प्रतिक्रिया