एआईजी कार्कीको सशक्त नेतृत्वमा प्रहरी संगठनमा विश्वास, एकता र पेशागत निष्ठा पुनर्स्थापित


काठमाडौं – जेनजी आन्दोलनले गर्दा प्रहरीमा परेको गम्भीर मनोवैज्ञानिक दबाबलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) दान बहादुर कार्कीको सशक्त नेतृत्व र दूरदर्शी दृष्टिकोणले आत्मबल पुनः जागृत हुन थालेको छ। 

आन्दोलनका क्रममा देखिएको प्रहरी संगठनभित्रको कमजोर मनोबल,राजनीतिक हस्तक्षेप र नेतृत्वको अभावका कारण असन्तुष्टि बढेको थियो। तर, कार्कीको संयमित तर निर्णायक नेतृत्व शैलीले अहिले प्रहरी संगठनमा विश्वास, एकता र पेसागत निष्ठा पुनर्स्थापित हुन थालेको हो । 

कार्कीले प्रहरीलाई केवल बल प्रयोगमा आधारित नठानी संवाद, तथ्य र रणनीतिक संयोजनका माध्यमबाट समस्या समाधान गर्नुपर्ने सोचलाई अघि सारेका छन्। यही दृष्टिकोणका कारण संगठनभित्र पेसागत गौरवको भावना बलियो बनेको छ भने, जिम्मेवारीप्रतिको निष्ठा र आत्मविश्वास समेत उल्लेखनीय रूपमा बढेको छ।

‘प्रहरी संगठनको प्रतिष्ठा जनतामाझ पुनः स्थापित गर्नु हाम्रो पहिलो दायित्व हो,’ भन्ने सन्देशसहित उनले संगठनभित्रका जवानदेखि उच्च तहका अधिकृतसम्मलाई प्रेरित गर्न सफल भएका छन्। लामो समयदेखि राजनीतिक हस्तक्षेप, अव्यवस्थित सरुवा–बढुवा र आन्तरिक द्वन्द्वबाट उत्पीडित महसुस गरिरहेका प्रहरी कर्मचारीहरू अहिले आशावादी बन्न थालेका छन् । 

जेनजी आन्दोलनबाट प्राप्त पाठलाई आत्मसात् गर्दै कार्कीले सुधारमुखी कदम चालेका छन्। पारदर्शिता अभिवृद्धि, निष्पक्ष सरुवा–बढुवा प्रक्रिया तथा राजनीतिक दबाबलाई न्यूनतममा झार्ने प्रयासहरू हाल देखिन थालेका छन्। यिनै सुधारका प्रयासहरूले संगठनभित्र भविष्यप्रतिको आशा र भरोसा जन्माइरहेको प्रहरीले जनाएको छ ।