बिहीबार नेप्सेमा पहिरो गएपछि अर्थ मन्त्रालयले बनायो अध्ययन कार्यदल, ५ दिनभित्र रिपोर्ट दिने


काठमाडौं – जेनजी आन्दोलनपछि बिहीबार खुलेको शेयर बजार नेप्सेमा पहिरो गएपछि अर्थ मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ। पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो।

मन्त्रालयले जनाएको अनुसार कार्यदलले पाँच दिनभित्र लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्ययोजना पेस गर्नेछ। अर्थमन्त्रीस्तरको २०८२ असोज ३ गतेको निर्णयअनुसार बनेको कार्यदलमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक (क.मु) रुपेश के.सी संयोजक रहेका छन्।

नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक (क.मु) निरन्जन फूयाँल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिवका रूपमा रहनेछन्। मन्त्रालयका अनुसार कार्यदलले तत्कालीन समस्या समाधान र पुँजी बजारलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनुपर्ने कदमबारे ठोस कार्ययोजना ल्याउने अपेक्षा गरिएको छ।