चिनियाँ भूभाग हुँदै आयातका लागि मुस्ताङ भन्सार पनि थपियो


काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको छ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले २०८२ भदौ ३१ गते जारी गरेको परिपत्रअनुसार, अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीत पत्र (एलसी)  प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिनेछ।

यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारमार्फत मात्र सामान ल्याउन पाइन्थ्यो। तर, संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ। मुस्ताङ भन्सार समावेश हुनुले व्यापारिक गतिविधि विस्तार हुने र आयातमा सहजता आउने अपेक्षा गरिएको छ।