काठमाडौं – जेनजी आन्दोलनको क्रममा हिल्टनमा होटलमा आगजनीको कारण ठुलो क्षति भएको छ । करिब ८ अर्बमा बनेको हिल्टन होटलले दि ओरिएन्टल इन्स्योरेन्समा बीमा गरेको थियो । हिल्टन होटलको पाँच अर्बको बीमा गरिएको र सो बीमाको दावी भारतीय बीमा कम्पनी दि ओरिएन्टलमा पर्ने भएको छ । ओरिएण्टलका प्रवक्ता मान बहादुर ढकालले हिल्टन होटलको आर्थिक क्षतिको मूल्याङ्कन रिपोर्ट भने आउन बाँकी रहेको बताएका छन् ।
‘हिल्टन होटलको क्षतिको भ्यालुएसनको लागि सर्भेयरहरुले काम सुरु गरिसकेका छन्। रिपोर्ट आएपछि दावीको प्रक्रिया सुरु हुन्छ ।’ उनले भने । होटलको बीमा ओरिएन्टल इन्स्योरेन्समार्फत गरिएको भएपनि पुनर्बीमा नेपाल रि इन्स्योरेन्सले पनि क्षति बेहोर्नुपर्छ ।
२०७३ सालमा निर्माण थालिएको होटलमा १४५ कोठा, व्याङ्क्वेट हल, स्पा, जिम, रेस्टुरेन्ट, स्विमिङ पुलसहितका सुविधा थिए। प्रारम्भिक अनुमान साढे तीन अर्बको भएपनि लागत बढ्दै गएर ८ अर्ब रुपैयाँ पुगेको थियो। तर, आगजनीले सम्पूर्ण संरचना ध्वस्त भएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको ११ तले होटलमा तीन तला बेसमेन्ट पार्किङ सुविधा थियो । अहिले आगलागीपछि सञ्चालन असम्भव बनेको छ ।






About Us
प्रतिक्रिया