२० प्रतिशतले बढ्यो सेयर बजारमा म्युचुअल फण्डको लगानी

२० प्रतिशतले बढ्यो सेयर बजारमा म्युचुअल फण्डको लगानी


बैैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फण्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जेठ महिनामा ३२ म्युचुअल फण्डहरुले १ अर्ब ४५ करोड खुद नाफा कमाएका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । 

म्युचुअल फण्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ ।

यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य न्याभ पनि बढ्ने वा घट्ने भइरहन्छ । अघिल्लो महिना २० अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २० प्रतिशत धेरै हो ।

यता, म्युचुअल फण्डहरुको बैंक मौज्दात भने ०.४७५ ले घटेको छ । यस अवधिमा फन्डहरुले कुल ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बैंक मौज्दात थियो ।

जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फण्डको देखिएको छ । यसको न्याभ ९४ पैसाले बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । वैशाखमा न्याभ ११ रुपैयाँ ८६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ ।

बजार बढेको प्रभाव यिनीहरुको न्याभमा पनि देखिएको हो । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फण्ड–१ को छ । यसको न्याभ जम्मा ८ रुपैयाँ ६३ पैसा रहेको छ । जम्मा ११ वटा फण्डहरुको न्याभ १० रुपैयाँ भन्दा कम छ । बाँकी सबैको सो भन्दा धेरै देखिएको छ ।