हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा ध्वस्त, लकर जोगिँदा पनि करोडमाथिको क्षति


काठमाडौं – गत भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हिमालयन बैंकको बत्तीसपुतली ब्रान्चमा आगलागी गरेका छन् । प्रदर्शनकारीले बैंकको बत्तीसपुतलीस्थित शाखा कार्यलयमा आगजनी गर्दा सो शाखा पूर्ण रुपमा क्षति भएको हो ।

बैंकका सूचना अधिकारी सुनिल प्रसाद गोर्खालीकाअनुसार भल्ट र लकर फायरप्रुफ (आगलागीबाट केही नहुँने) भएका कारण सो शाखामा भएको नगद भने क्षति भएन । उनले भौतिक सामानह जलेर नष्ट हुँदा मात्रै करिब डेढ करोड बराबरको क्षति भएको अनुमान गरेको बताएका छन् ।

‘एउटा ब्रान्च निर्माण गर्न कम्प्यूटरदेखि सबै सामान व्यवस्थापन गर्न एक डेढ करोड बराबर खर्च हुन्छ’ उनले बैंकिङ्ग समाचारसँग भने । अन्य शाखामा भने केही नभएको उनले जानकारी दिए ।

यस्तै, बैंकको १८ वटा एटिएम पनि तोडफोड भएको छ । जसमा १०/१२ वटा एटिएम पूर्ण रुपमा क्षति भएको छ । ५/६ वटा एटिएम बुथ भने पुन सञ्चालन गर्न मिल्ने किसिमको छ । बैंकको एटिएमबाट पनि नगद भने हराएको छैन । एउटा एटिएम मेसिनका लागी १५ देखि १८ लाखसम्म पर्छ । एटिएम तोडफोड हुँदा पनि बैंकले करिब एक करोड बढी क्षति व्यहोर्नु परेको छ ।