भौतिक क्षतिबाट जोगियो बीमा क्षेत्र, अन्य क्षेत्रको क्षति टाउको दुखाइ बन्दै


काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सरकारी तथा निजी सम्पत्तिमा ठुलो क्षति पुर्‍याए पनि नेपालको बिमा क्षेत्र भौतिक क्षतिबाट जोगिएको छ । सरकारी तथा विभिन्न निजी सम्पत्तिमा क्षति हुँदा बिमा प्राधिकरण,बिमा कम्पनी वा शाखा कार्यालयमा कुनै पनि असर नपरेको नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बताएका छन् । उनी भन्छन्,‘देशमा ठुलो क्षति भयो । सबै पक्षबाट सबै जनामा तनाव सिर्जना भयो । साथै, केही वित्तीय संस्थामा यसको असर देखियो ।’ जेनजीको आन्दोलनले बिमा क्षेत्रमा भौतिक भार भने नपरेको उनको भनाइ छ ।

यद्यपि, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण बीमा क्षेत्रमा ठुलो आर्थिक भार परेको छ। निजी क्षेत्रमा आगजनी हुँदा भूकम्पको समयमा भन्दा बढी आर्थिक भार पर्ने पनि अनुमान गरिएको छ। र,अहिले बिमा प्राधिकरण लगायत सबै बीमा कम्पनीहरू पनि बिमा दावीको काममा व्यस्त भएको अधिकारीको भनाई रहेको छ । सरकारी सम्पत्तिको बीमा नभएका कारण बिमा क्षेत्रमा कुनै आर्थिक भार नपर्ने नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

यद्यपि, निजी सम्पत्तिको क्षति कभर गर्न बिमा कम्पनीहरू र सर्भेयरहरू सक्रिय रूपमा लागिपरेका छन्। चौधरी मोटर्स, सिप्रदी, हिल्टन, भाटभटेनी र महेन्द्र सुजुकीजस्ता व्यवसायका सम्पत्तिमा भएको क्षतिको मूल्यांकन र दावी प्रक्रिया अगाडि बढाउन सर्भेयरहरूले काम सुरु गरिसकेका छन्। बीमा सर्भेयरहरूले क्षतिग्रस्त सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार पार्ने क्रममा छन्। साथै, आज बीमा प्राधिकरणले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा कम्पनीहरू र सर्भेयरसँग छलफल गरेको छ ।

दावी प्रक्रिया र सर्भेको प्रक्रियालाई निरन्तर अघि बढाइएको पनि बताएको छ । भदौ २४ गते देशभर उग्र बनेको जेनजी आन्दोलनले अर्बौँ सम्पत्तिको क्षति भएको थियो । जसका कारण बीमा कम्पनीहरूमा भूकम्पनको समयमा परेको १७ अर्ब दावी भन्दा धेरै क्षतिको आँकलन गरिएको छ । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले भौतिक सम्पत्ति, मोटर र व्यवसायिक क्षेत्रमा ठुलो क्षति भएको छ । जसको कारण बीमा कम्पनीहरूमा दाबीहरूको बाढी आउने देखिएको छ । यो आन्दोलनले २०७२ को भूकम्पको १७ अर्ब रुपैयाँको दावीलाई पनि उछिन्न सक्ने आँकलन बीमा कम्पनीहरूले गरेका छन् ।