काठमाडौं – महालक्ष्मी विकास बैंककाे पाेखरा शाखा बाहेक अन्य सम्पूर्ण शाखा पूर्ण रूपमा सञ्चालनमा आएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको जानकारी दिएकाे हाे ।
बैंकले लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सकिने जानकारी गराएकाे छ ।
‘यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरूमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।’ बैंकले भनेको छ ।
उक्त घटनाहरूमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दछ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुङ्गिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ।



About Us
प्रतिक्रिया