काठमाडौं – २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्था लगायतका संरचनामा आगजनी र तोडफोड हुँदा ती स्थानहरूमा रहेका ऐतिहासिक दस्ताबेज, कागजात, बहुमूल्य वस्तु, हातहतियार तथा नगद सामग्रीहरू चोरी र लुटपाट गरी बजारमा बिक्री वितरण गरिएको आशङ्का बढेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आम सर्वसाधारणलाई यस्तो सामान खरिद नगर्न आग्रह गरेको छ।
यसबारे नेपाल प्रहरीको सम्बन्धित ब्युरो तथा अन्य सुरक्षा निकायले प्रारम्भिक अनुसन्धान सुरु गरेकाले यस्ता समानहरू खरिद नगर्ने सीआईबीले सर्वसाधारणले अनुरोध गरेको छ । सीआईबीले शङ्कास्पद वा अनधिकृत स्रोतबाट प्राप्त गरिएको दस्ताबेज, ऐतिहासिक सामग्री, बैंक र वित्तीय संस्था सम्बन्धी उपकरण, हातहतियार, वा अन्य बहुमूल्य सामान खरिद नगर्ने अपिल गरेको हो।
यस्ता वस्तु वा सम्बन्धी जानकारी प्राप्त भएमा नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन तथा ती सामानहरू पाएमा सोही सुरक्षा निकायमा बुझाउन सीआईबीले बताएको हो ।
चोरी, लुटपाट वा आगजनीबाट प्राप्त सामानको खरिद–बिक्री तथा सञ्चय गरिएको पाइएमा प्रचलित कानुन अनुसार कडा अनुसन्धान गरी कारबाही गरिनेछ । प्रहरीले बताएअनुसार जनता र व्यापारी समूहले सचेत रहँदा मात्र चोरीलगायत अपराध रोकथाममा सकारात्मक भूमिका निभाउन सकिन्छ। अनुसन्धानलाई सहयोग पुर्याउन सम्बन्धित निकायहरूलाई उपयोगी जानकारी र प्रमाण उपलब्ध गराउन सबैलाई आग्रह गरिएको हो ।



About Us
प्रतिक्रिया