काठमाडौं – नयाँ पुस्ता अर्थात् ‘जेनजी’को आन्दोलनले देशको कूल गार्हस्थ उत्पादन (जीडीपी)मा ८० प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै आएको निजी क्षेत्रमाथि बज्रपात परेको छ । आन्दोलनकारीको निशानामा निजी क्षेत्र पर्दा उद्योगी–व्यवसायीमाथि बज्रपात परेको हो ।
जबकी देशकै ठूलो रोजगारदाता र अर्थतन्त्रको ठूलो हिस्सेदार निजी क्षेत्र हो । जसले रोजगारी सृजनामा ८६ प्रतिशत योगदान र कूल ६१ खर्ब रुपैयाँभन्दा माथिको अर्थतन्त्रमा ८० प्रतिशत योगदान पुर्याएको छ । यही निजी क्षेत्र प्रत्येकपटक जसोको आन्दोलनमा केन्द्रमा पर्दै आइरहेको छ । आन्दोलनको सुरुको दिन सरकारी दमनका कारण १९ जनाको मृत्यू भएपनि आन्दोलनले उग्र रुप लिएको आन्दोलनबाट देशव्यापीरुपमा निजी क्षेत्रले ठूलो क्षती ब्यहोरेको पाइएको छ ।
नेपाल होटल संघकाअनुसार दुई दर्जनभन्दा बढी होटल तथा पर्यटनको क्षेत्रमाा मात्रै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, देशभर कम्तिमा ६० वटा शाखा तथा दर्जनबढी एटीएम कार्यालय टोडफोड, लुटपाट र आगजनी भएको छ । सुरुमा उग्र बन्दै संसद भवनमा भएको तोडफोड र आगजनी पछि वितन्डामा परिणत भएको आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री र राष्ट्रपति निवास लगायतमा आगजनी गराएका थिए ।
यहीक्रममा बैंक तथा वित्तीय संस्थासहित होटलहरुसँगै देशभरका भाटभटेनी आउटलेटहरुमा समेत आक्रमण भयो । जसक्रममा देशव्यापीरुपमा कम्तिमा २१ वटाभन्दा बढी आउटेलेटमा क्षती भएको छ । यसबाहेक, चौधरी समूहका कार्यालय तथा विनोद चौधरी, बसन्त चौधरी र निर्वाण चौधरीको निजी सम्पत्तीमा नै तोडफोड र लुटपाट भयो ।
यसबाहेक, आईएमई समूह, लोत्से महल, सेन्ट्रल बिजनेश पार्क, टाटा मोटर्स, सुजुकी स्वरुम, सिजी मोटर्स लगायतमा समेत आगजनी गरियो । हिल्टन होटल तथा एनसेलसहितका कार्यालयहरुमा समेत आक्रमण तथा आगजनी भयो भने चन्द्रागिरी केबलकार, युलेन्स स्कुल र नामी कलेजले समेत आक्रमण भोग्नुपर्यो ।
उता उपत्यकका बाहिरका औद्योगिक नगरी विराटनगर र भैरहवा तथा लुम्बिनीका व्यवसायीक प्रतिष्ठानमा समेत ठूलो क्षती भएको छ ।
ढल्यो व्यवसाय, ढलेन व्यवसायीको आत्मविश्वास
यतिबेला राज्यको राजश्व र रोजगारी सृजनामा फराकिलो भूमिका खेल्दै आइरहेका निजी क्षेत्र र अर्थतन्त्र चौपट छ । व्यवसायीक साम्राज्य र भवन आगोबाट जलेपछि ढलेका छन् । प्रारम्भिक आँकलनअनुसार नै कम्तिमा खर्ब रुपैयाँ हाराहारीको निजी क्षेत्रको क्षती भएको आँकलन गर्न सकिन्छ ।
तर, व्यवसायीक क्षेत्रले पुनः उठ्ने अठोट व्यक्त गर्न थालेको छ । ‘विनाशले हाम्रो परिवारलाई ठूलो आघात र्पुयाएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ । तिमीहरूको हरेक शब्द, हरेक सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ’ भाटभटेनीद्वारा सार्वजनिक भिडियो सन्देशमा भनिएको छ । ‘आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, तपाईहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं,’ जारी भिडियो सन्देशमा थपिएको छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष व्यवसायी शेखर गोल्छाले पनि आत्मबल बढाउँदै अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले लेखेका छन्, ‘केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो । तर म र मेरो परिवार निरास वा विचलित भएको छैन ।’
‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु,’ उनले थपे । यसबाट देशले सार्वजनिक सम्पत्तीसँगै निजी क्षेत्रले समेत ठूलो क्षती ब्यहोर्दा समेत व्यवसायीक जगतले आत्मबल नगिराएको देखिन्छ ।
यता चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले अराजक समूहको आक्रमणले भवन जले पनि सपना जिउँदै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रा परिवारका घरहरू जलाइयो, हाम्रा कारखाना र अफिसहरूमा क्षति पुर्याइयो, र हाम्रा शोरूमहरू लुटिए । दशकौंको परिश्रम, समर्पण र लगानी केही घण्टामै खरानीमा परिणत भयो ।’ यो केवल सम्पत्तिमाथिको आक्रमण मात्रै नभएर आशा, विश्वास र सपनामाथिको आक्रमण भएको उनको भनाई छ ।
अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू भ्रष्ट वा तस्कर नभए पनि निसाना बनाइएको भन्दै अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको बताएका छन् । उनले लेखेका छन्, ‘यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ ।’
यसले आक्रमणमा परेको निजी क्षेत्र वर्तमान परिस्थिती र विपत्तिबाट नझुेको देखाउँछ । प्रत्येकजसो आन्दोलनको मारमा पर्दै आइरहेपनि यो क्षेत्रले आफूलाई कमजोर नभएर थप मजबुद देखाउने प्रयास गरेको छ । तथापी निजी क्षेत्रले सदैव सर्वसाधारण तथा सरकारको विविद् आक्रमण गरिरहेको छ ।



About Us
प्रतिक्रिया