राजनीतिक नेतृत्वको पर्खाइमा कर्मचारी प्रशासन: मुख्यसचिवले सचिवहरूसँग गरे भर्चुअल संवाद


काठमाडौं- जेन-जीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलताले कर्मचारी प्रशासन पनि अस्तव्यस्त बनेको छ ।

बुधबार मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका थिए । तर, देशमा राजनीतिक अन्योलता भइरहँदा ठोस निर्णयमा नपुगेको एक सचिवले जानकारी दिए । ती सचिवले भने, ‘सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा कोहीँ पनि गएका छैनन् । यद्यपि बुधबार मुख्यसचिवज्यूसँग भर्चुअल संवाद भने भएको छ । हामी कर्मचारी राजनीतिक नेतृत्व नहुँदा केही निर्णय लिन नसक्ने अवस्थामा छौं ।’

चाँडोभन्दा चाँडो राजनीतिक नेतृत्व प्राप्त हुने अपेक्षारत रहेको ती सचिवको भनाइ छ । सेनाले जारी गरेको निषेधाज्ञामा सरकारी निकायका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सार्वजनिक संस्थानका कर्मचारीलाई परिचयपत्र देखाएर आवतजावतमा सहजिकरण गर्ने जनाइसकेको छ।