काठमाडौं – भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्बाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको भैसेपाटीस्थित घरमा आगजनी भएको छ। पौडेलले सामाजिक सञ्जालमार्फत आगलागी भएको घरको भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।
उनका अनुसार उक्त घर उनले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै विदेशमा अध्ययन र काम गरेर संकलन गरेको रकमले साँढे पाँच आना जमिनमा निर्माण गरेका थिए। श्रीमती र नौ वर्षीया छोरीलाई घर मन परेको कारण गभर्नर बनेपछि पनि परिवार त्यहीँ बस्दै आएको उनले बताएका छन्।
घरको भित्री संरचना आकर्षक रहेको र किताब, पुराना ऐतिहासिक सामग्री, विभिन्न देशका कलाकृति, देवी–देवताको मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति त्यहाँ रहेका उनले स्मरण गरेका छन्। साथै जम्मा ५०० प्रति मात्र प्रकाशित भएको जंगबहादुरको प्रेमिका लौरा बेलको जीवनी, छोरीको मन पर्ने कोठा तथा कपन गुम्बाका गुरु रिम्पोछेले दिएका खेलौनासमेत आगलागीमा नष्ट भएको उल्लेख गरेका छन्।
उनलेका अनुसार, आगलागी हुनु केही घण्टाअघि नै एक अनलाइनमा ‘घर जलेको’समाचार आएको थियो। तर वास्तविक आगलागी पछि भयो र अज्ञात व्यक्तिहरू घरभित्र पसेर बा–आमाको फोटोदेखि लिएर छोरीको बाल्यकालको तस्बिर कुल्चेर तोडफोड गरी आगो लगाएको उनले दाबी गरेका छन्। आगलागीपछि राति परिवार सुरक्षित स्थानमा बसेको र आफू पनि घरबाहिरै रहनु परेको पौडेलले बताएका छन्।
‘धेरै साथीहरूले फोन गरेर सोध्दा मैले ‘ठिकै छ’ भनेको छु। अरू धेरै पीडामा परेका नागरिकहरूबारे पढेँ। त्यसैले सबैलाई जानकारी होस् भनेर जलेको मेरो घरको भिडियो पोस्ट गरेको हुँ,’ पौडेलले लेखेका छन्।
उनले कसैसँग दुई पैसा पनि नखाएको र अहिलेसम्म नखाएको दाबी गर्दै नयाँ सरकार बन्ने बेला यस्ता घटनाहरूबीच पनि आफू आफ्नो जिम्मेवारीमा अडिग रहने बताए।






About Us
प्रतिक्रिया