काठमाडौं – गत सोमबार अर्थात् सेप्टेम्बर ८ बाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन वर्षौदेखि जेल जीवन बिताइरहेकालाई भने अवसर बनेको छ । देशभर भड्किएको जेनजी आन्दोलनले धेरै प्रहरी कार्यालय र कारागारमा आगजनी तथा तोडफोड भएपछि कैदीबन्दीहरूलाई भाग्ने अवसर बन्न पुगेको हो ।
आन्दोलनकारीहरूले प्रहरी चौकी तथा कारागार तोडफोड गर्दा थुनामा रहेका कैदीहरूले सजिलै भाग्ने मौका मिलेको थियो । उपत्यकासहित देशभरका विभिन्न प्रहरी कार्यालयमा जेनजी आन्दोलनकारीको नाममा अन्य समुह तथा व्यक्तिहरुले प्रहरी वृत्त र कारागारहरुलाई तोडफोड र आगजनी गर्दै कैदीहरु निकालेका छन् ।
हाइप्रोफाइल कैदीहरुलाई अराजक समुहहरुले प्रहरी वृत्तमा अगजानी गरेर भगाएका थिए । यसैक्रममा आन्दोनरत जेनजीले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि कारागारबाट निकालेका थिए । साना बचतकर्ताको रकम जम्मा गर्ने सहकारीको रकम ठगी गरेको आरोपमा जेल जीवन बिताइरहेका लामिछानेलाई पनि उनीहरुले निकालेका हुन् । यता उनले भने सबै कानुनी प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको दाबी गरिरहेका छन् । सोहि समयमा कारागारका अन्य सबै जना कैदीहरु पनि बाहिर निस्किएर फरार भइसकेका छन् । यतिमात्र नभई देशका अन्य क्षेत्रहरुबाट पनि बैंकिङ्ग कसुरका घटना तथा अन्य विभिन्न घटनाहरुमा संलग्न रहेका आधारमा पक्राउ परेका कैदीहरु फरार भएका हुन् ।
साथै, डिल्लीबजार कारागारमा रहेका कैदीहरूले पनि कारागारमा आगो लगाइदिएका छन् । अन्तका कारागारमा रहेका कैदीहरू सबै भागेपछि हामीपनि भाग्न पाउनुपर्छ भन्दै उनीहरुले आगो लगाएका हुन् । बाहिर निस्किएका कैदीहरुले साधारण तारेखमा छाड्न माग गरेका हुन् । त्यसप्रश्चात सेनाले कारागारबाट बाहिर निस्किएका कैदीहरुलाई गेटमै रोकेको छ । सो कारागारमा हाइप्रोफाइल कैदीहरु रहेका छन् । कारागारमा आर्थिक अपराधका कैदीहरु केबी उप्रेती, याम बहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, कमल ज्ञवाली, इच्छाराज तामाङ, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ल समेत छन् ।
आन्दोलनकारीहरूले लगाएको आगलागीका कारण पनि कैदीहरू थुनामुक्त भएर फरार हुने अवसर पाए । तीनकुनेस्थित प्रहरी वृत्तमा प्रदर्शनकारीहरूले आगजनी गरेर हतियार लुटेका कारण कैदीहरूलाई भाग्न सहज भएको थियो ।
यसरी आन्दोलनकै क्रममा प्रहरी नियन्त्रण कमजोर हुँदा कैदीहरूलाई स्वतन्त्र हुने अवसर प्राप्त भएको हो । यता सर्वोच्च अदालतमा पनि आगलागी हुँदा काम कारबाही ठप्प भएको छ भने सबै पेसी स्थगित गरेको छ । कारागारका केही कैदीहरू फरार भइसकेका छन् भने केहीलाई नियन्त्रणमा लिन खोजी कार्य भइरहेको सेनाहरु बताउँछन् । प्रहरीका विभिन्न संरचना जलेर नष्ट भएपछि मुलुकभर सुरक्षा जोखिम बढेको प्रहरी अधिकारीहरू बताउँछन् ।
यसैबीच, आन्दोलनकारीद्वारा गरिएको आगजनी, तोडफोड र कैदी फरार घटनालाई सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको छ । उपत्यकाको तीनकुनेस्थित प्रहरीको वृत्तबाट, सातदोबाटोको वृत्तबाट र सोह्रखुट्टेस्थित प्रहरी वृत्तबाट थुनुवाहरु भागेका थिए ।कतिपय कारागारमा आन्दोलनरत जेनजी पुस्ताले आगजनी गर्दा समेत कैदीबन्दीहरू फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि प्रदर्शनकारीहरूले तोडफोड र आगजानी गरेका थिए । सोही क्रममा कास्की कारागारबाट ७७३ बढी कैदीबन्दी फरार भएका हुन् । त्यस्तै, डडेल्धुराका कारागार तोडेर ८५ जना कैदीबन्दी भागेका थिए भने, २६ जनालाई प्रहरीले फेरि पक्राउ गरिसकेको हो ।
त्यस्तै, कपिलवस्तु कारागारका कैदीहरु पनि कारागार नै तोडफोड गरेर भागेका छन् । जेनजीको आन्दोलनलाई अवसर पारेर उक्त कारागारका कैदीहरुले कारागार नै तोडफोड गरेर भागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख निरन्जन दत्त भट्टले बैंकिङ्ग समाचारसँगको कुराकानीमा बताएका छन् । उक्त कारागारबाट चार सयभन्दा बढी कैदी भागेका हुन् । कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेका छन भने भागेकामध्ये २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमका अधिकांश जिल्लाका कैदी फरार
सुदूरपश्चिम प्रदेशका पनि अधिकांश जिल्ला कारागारका अधिकांश कैदीबन्दी भागेका छन् । सुदूरपश्चिम प्रदेशका बाजुरा जिल्लाका बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागेका हुन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता प्रकाश राना भाटकाअनुसार १४ सय ५६ जना कैदीहरु भागेका हुन् । यसरी जेल मुक्त भएका कैदीहरुको मुख्य निशानामा विभिन्न स्तरका अदालतहरु रहेका छन् । हिजो कारागारबाट भागेका कैदीहरुले अदातलमा गएर आगजनी गर्ने गरेका छन् । साथै, आज जेलबाट भागेका कैदीहरुले सुरुमा कारागार र त्यसपछि अदालतहरुमा आगजनी र तोडफोड गरेका थिए ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीले प्रयास गरेपनि भीड नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भएको छ । प्रहरीकाअनुसार भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीहरु भागेका छन् भने तनहुँको कारागारबाट कैदीहरु भागेका छन् । धादिङ कारागारका कैदीहरुले पनि सबै तिरका कैदी भागेका भन्दै भाग्ने प्रयास गरिरहेका छन् । उनीहरुले कारागारमा तोडफोड गर्दै आगजनी समेत गरेका छन् ।
त्यस्तै, चितवनको भरतपुर कारागारबाट पनि आज बिहान ६० जनाभन्दा बढी कैदीहरु भागेका छन् । त्यस कारागारमा रहेका कैदीहरुले नै तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोड्दै पर्खाल भत्काएर भागेका हुन् । ७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए । कैदीले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो । यस्तै, अन्य जिल्लामा रहेका कैदीले पनि कारागारमा तोडफोड र आगजनी गर्दै भाग्ने प्रयास गरी रहेका छन् । काभ्रेपलाञ्चोक कारागारमा कैदीले पनि आगजनी गरेका छन् । त्यहाँ २८३ कैदी छन् ।
साथै, राजधानीस्थित सुन्धारा कारागारबाट पनि गएराति ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् । कारागारमा करिब ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले ५ सय हाराहारी मात्र भित्र रहेका छन् भने बाँकी कैदी फरार भएका छन् । फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि रहेको पुष्टि भएको छ।
यता, मोरङ जिल्ला कारागारमा कैदीबन्दी भाग्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ। कैदी छुटाउन बाहिरबाट आएको समूहले कारागारलाई दबाब दिएपछि प्रहरीलाई हवाई फायर गर्नुपरेको हो। सुरक्षाकर्मीले कारागार परिसर वरपर सुरक्षा थप कडा बनाएका छन्। फरार कैदीबन्दीको खोजी सुरु भइसकेको प्रहरीले बताएकाे छ ।






About Us
प्रतिक्रिया