जेनजीले भन्यो,’आन्दोलनमा घुसपैठ भयो, सबै जना सुरक्षित तरिकाले घर जानुस्’


काठमाडौं – जेनजीको प्रदर्शन उग्र भएपछि घुसपैठ भएको भन्दै जेनजी नेपालले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको छ। जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ पेजमा भनिएको छ ।

जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।