काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणालीमार्फत तरलता तानिरहेको छ ।
केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्नेछ । यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँच् र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले भदौ लागेयता मात्रै साताै पटक निक्षेप संकलन गरिसकेको छ । केन्द्रीय बैंकले भदौ १ गते ६० अर्बको ३१ दिने, भदौ ४ गते ३० अर्बको २५ दिने, भदौ ८ गते ५० अर्बको २१ दिने, भदौ ११ गते ४५ अर्बको २५ दिने, भदौ १५ गते ५५ अर्ब, १८ गते ५० अर्ब रूपैयाँ निक्षेप संकलन गरिसकेकाे छ ।






About Us
प्रतिक्रिया