नेप्सेमा एक साता मै ६१.२२ अंकको गिरावट, खुम्चियो कारोबार रकम


काठमाडौं – यस साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । यो हप्ता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६१.२२ अंकले घटेको छ । यससँगै कारोबार रकम समेत खुम्चिएको छ । सातामा पाँच दिन कारोबार हुँदा एक दि मात्रै बढेको बजार बाँकी ४ दिन लगातार घटेको थियो ।

यस साता नेप्सेमा गिरावट आउँदा कारोबार रकम खुम्चिएर २४ अर्ब रुपैयाँ आसपासमा पुगेको हो । साताभरको शेयर कारोबारको विवरणअनुसार आइतबार नेप्से ३१.१७ अंकले घटेर २७ सय ४९ दशमलव ८३ को विन्दुमा बन्द भएको थियो । त्यस्तै, सोमबार भने १२.०३ अंकले वृद्धि हुँदै बजार २७ सय ६१ दशमलव ८६ को विन्दुमा पुगेर बन्द भएको हो ।

यता, मंगलबार पुन १९.८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ विन्दुमा झरेको हो । त्यस्तै, बुधबार शेयर बजार पुनः ओरालो लागेर १५।६४ अंकको गिरावट सहित बजार २७ सय २६ दशमलव ३३ को विन्दुमा बन्द भएको थियो । त्यस्तै अन्तिम कारोबार दिन बिहीबार समेत शेयर बजार घट्न पुग्यो । बिहीबार ६.५५ अंकले घटेको नेप्से २७ सय १९ दशमलव ७७ को विन्दुमा कायम भएको थियो ।

कुन दिन कति भयो कारोबार ?

यो साताभर नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै कारोबार रकम समेत घटेको छ । आइतबार ५ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ५ अर्ब आसपासको शेयर कारोबार भएको थियो ।

त्यस्तै, साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार कारोबार लगभग रकम १ अर्ब रुपैयाँले घटेर ४ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, बुधबार ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बिहिबार ५ अर्ब रुपैयाँ शेयर कारोबार गरेको थियो । यसरी, साताभरको ५ कारोबारको दिन नेप्सेमा हरेक दिन जसो ५ अर्ब आसपास शेयर कारोबार भएको छ ।