नवनियुक्त आईजीपी खापुङसामु चुनौती: तस्करका जालो पन्छाउनेदेखि जीबी राई पक्राउ गर्नुपर्नेसम्म 


काठमाडौं – ‘भाग्यमानी’ नै मान्न सकिन्छ, विवादरहित नियुक्ति पाएर चन्द्र कुवेर खापुङले ३२ औँ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न पाए । नेपाल प्रहरीको ऐन र नियमावलीमा कुनै परिवर्तन नभए नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ २ महिना ७ दिन मात्रै पदमा रहनेछन् । प्रहरी संगठन हाँक्ने सर्वोच्च पदमा रहेर काम गर्न कार्यकाल अवधि निकै छोटो भएकाले खापुङसँग चुनौतीका चाङसँगै चाप पनि उत्तिकै छन् । 

पूर्व प्रहरी  महानिरीक्षक धिरज प्रताप सिंहले खापुङले नेपालका सबै क्षेत्रका आपराधिक घटनाहरूलाई मध्यनजरमा राख्दै अगाडि बढ्न आवश्यक रहेको औँल्याए। उनले भने ‘अनुसन्धान गरेका घटनाहरूको सफल अनुसन्धान गर्नु प्रहरीको मुख्य चुनौतीहरूमध्ये एक हो। सिंहले महिला तथा बालबालिकामाथि हुने अपराध विशेष रूपमा मधेस प्रदेशमा बढी रहेको र यसतर्फ विशेष ध्यान दिन आवश्यक छ।’सिंहले खापुङलाई  नेपाल प्रहरीको जनशक्तिहरूलाई प्रोत्साहन गर्दै उच्च मनोबलका अघि बढ्न सुझाव दिए। 

राजनीतिक हस्तक्षेपलाई थेग्दै कुशल प्रशासक बन्ने चुनौती

महानिरीक्षकको भूमिकामा रहने व्यक्तिका लागि प्रमुख चुनौती भनेकै कुशल प्रहरी प्रशासक बन्नु हो । प्रतिस्पर्धात्मक भए पनि अन्तिम छनोट राजनीतिक नेतृत्वकै हातमा हुने भएकाले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने चुनौती हुन्छ। विगतका घटनाक्रम हेर्ने हो भने प्रहरी वृत्त राजनीतिक हस्तक्षेपबाट उम्किन असफल नै देखिन्छ । खापुङले प्रहरी संगठनलाई राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रूपमा अगाडि बढाउन सक्छन् वा सक्दैनन्, त्यो उनको कार्य कुशलतामा निर्भर रहन्छ । 

अपराधमा नयाँ आयामसँग जुध्ने सामर्थ्य

पछिल्लो समय प्रविधिको विकाससँगै अपराधका नयाँ आयाम पनि देखा पर्न थालेका छन् । सूचना प्रविधि र वित्तीय अपराधका घटनालाई सामना गर्दै जुध्ने सामर्थ्य प्रहरी संगठनमा आवश्यक भइसकेको छ ।  पछिल्लो समयमा बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधका घटनासँग जुध्न सक्नु उनको कार्यकालको अर्को ठुलो चुनौतीका रूपमा छ । बैंकिङ्ग कसुर, अवैध वैदेशिक मुद्राको कारोबार, अनलाइन जुवा–सट्टाबाजी, नक्कली कागजातमार्फत ठगी लगायतका घटनाले सुरक्षात्मक निकायलाई थप चुनौती दिएको छ । कम समयमा नै उनले आर्थिक तथा वित्तीय अपराधका घटनामा कमी ल्याउने विभिन्न कदमहरू चाल्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

यसरी दिनानुदिन जटिल र सङ्गठित बन्दै गएका वित्तीय अपराध नियन्त्रण गर्ने विषय अहिले उनको कार्यकालको प्रमुख चुनौतीका रूपमा रहेको उनी बताउँछन् । विशेष गरी प्राविधिक माध्यम प्रयोग गरी हुने ठगी, सामाजिक सञ्जालमार्फत भइरहेको अनलाइन सट्टे बाजी तथा क्रिप्टोकारोबारले नियन्त्रण तथा निगरानीलाई थप जटिल बनाएको प्रहरीले जनाएको छ । 

प्रविधिको विकाससँगै आर्थिक तथा वित्तीय क्षेत्रमा विभिन्न प्रकारका आपराधिक गतिविधिहरू बढ्दै गएको छ । प्रविधि जति धेरै विकसित हुँदै जान्छ, त्यति नै अपराधका नयाँ–नयाँ स्वरूप देखिने गरेको खापुङ बताउँछन् । आर्थिक अपराध नियन्त्रणका लागि अझै उन्नत प्रविधि प्रयोग गरी अनुसन्धान र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । तर, अपराध बढ्दै गए पनि अहिलेको अवस्थामा अत्यधिक आतिनु पर्ने अवस्था भने सिर्जना नभएको प्रमुख खापुङले बताए । यससँगै सर्वसाधारणलाई सचेत गराउँदै अवैध वित्तीय गतिविधिमा संलग्न हुनेलाई कडाभन्दा कडा कारबाही गर्नु जरुरी रहेको उनको भनाइ छ।

नेपालमा चार्ल्स शोभराज जस्ता विश्वविख्यात अपराधी पक्राउ परेको ऐतिहासिक पृष्ठ भूमिमा नेपालबाट सहकारी ठगी मलेसिया भाग्न सफल भइसकेका जीबी राई पक्राउ गर्नुपर्ने प्रमुख चुनौती प्रहरी संगठनलाई आइपरेको छ । बैंकिङ्ग कसुर, अवैध वैदेशिक मुद्राको कारोबार, अनलाइन जुवा–सट्टाबाजी, नक्कली कागजातमार्फत ठगी लगायतका घटनाले सुरक्षात्मक निकायलाई थप चुनौती दिएको छ । कम समयमा नै उनले आर्थिक तथा वित्तीय अपराधका घटनामा कमी ल्याउने विभिन्न कदमहरू चाल्न आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

पूर्व आईजिपी  सिंहले खापुङले वर्तमान परिपक्ष्यमा देखिएका नयाँ किसिमका आर्थिक अपराधलाई गर्न दक्ष जनशक्ति र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘यस्ता आपराधिक घटना कम गर्न र अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव छ, जसमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ। प्रहरी अधिकृतहरूलाई तालिम प्रदान गरेर यस्ता अपराधहरूको सफल अनुसन्धान सुनिश्चित गर्नुपर्छ।’

कुख्यात सहकारी ठग जीवी राई पक्राउ

नेपालमा चार्ल्स शोभराज जस्ता विश्वविख्यात अपराधी पक्राउ परेको ऐतिहासिक पृष्ठ भूमिमा नेपालबाट सहकारी ठगी मलेसिया भाग्न सफल भइसकेका जीवी राई पक्राउ गर्नुपर्ने प्रमुख चुनौती प्रहरी संगठनलाई आइपरेको छ । वसन्तबहादुर कुँवर र दीपक थापा प्रहरी प्रमुख रहेका समयमा पक्राउको प्रयत्न गरिए पनि मलेसियामा बस्दै आएका सहकारी ठगीमा फरार जीवी राई अझै पक्राउ परेका छैनन् । इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भए पनि राईलाई पक्राउ गर्न नसकिएको विषयले सार्वजनिक वृत्तमा आशंका उब्जाएका छन् । हाल प्रहरी प्रमुखमा नियुक्त खापुङले भने जीवी राईलाई पक्राउ गर्न सक्लान् कि नसक्लान् भन्ने विषय सर्वसाधारणबीच चासोको विषय बनेको छ।

निम्न तहका प्रहरीको वृत्ति विकास व्यवस्थापन

त्यस्तै, उनीमाथि रहेको अर्को चुनौतीमा तल्लो तहमा रहेका प्रहरी जवानहरू र हवलदारको तलब भत्ता र सेवा सुविधासमेत छ । कुनै पनि संगठनमा कर्मचारीका लागि उत्प्रेरणा महत्त्वपूर्ण पक्ष हो ।उत्प्रेरणा दुई किसिमका हुन्छन्, मौद्रिक र गैह्र मौद्रिक । देशको शान्ति सुरक्षामा खटिने प्रहरीका लागि भित्रबाटै जाग्ने गैह्र मौद्रिक उत्प्रेरणाको खाँचो नभए पनि मौद्रिक पाटोमा भने सङ्गठनको नेतृत्वले नै ध्यान दिनुपर्ने हुन्छ । सरकारले निर्धारण गरेको सेवा सुविधाबाट जवान र हवलदारहरूमा निराश बढेर जागिर छाड्ने क्रम झनै बढ्दो अवस्थामा पुगेको छ । 

प्रहरी जवानको तलब भत्तामा देखिएको समस्यालाई सम्बोधन गर्न सरकारसमक्ष उनले गर्ने पहलकदमी महत्त्वपूर्ण हुन्छ । राज्यको क्षमता अनुसार समस्याको समाधान पनि हुँदै गइरहेको खापुङले आवश्यक परेमा थप पहल लिने बताए । उनी भन्छन्, ‘प्रहरीको तल्लो तहका प्रहरी जवानहरूले प्रहरीमा भन्दा अन्य क्षेत्रमा राम्रो अवसर पाएकाले गर्दा जागिर छाड्ने गरेका हुन्छन्, जसले गर्दा यस्तो पक्षलाई धरै नकारात्मक रूपमा समेत हेर्न आवश्यक छैन ।’

तस्करी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नेपाल प्रहरी प्रमुखका लागि सदाबहार देखिने चुनौतीका रूपमा कायम रहेका छन्। विशेष गरी ठुला तस्करी प्रकरण र उच्च तहसम्म पुग्ने भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्ने अधिकृतहरूले राजनीतिक दबाब र हस्तक्षेपका कारण ‘फसिन्छ’ भन्ने त्रास व्याप्त रहेको देखिन्छ।

अनुसन्धान अधिकृतहरूका अनुसार संवेदनशील मुद्दामा छानबिन गर्ने क्रममा उनीहरू आफैँ राजनीतिको सिकार बन्नुपर्ने, झुट्टा आरोप खेप्नुपर्ने र पेसागत अवसर गुमाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ । प्रहरी संगठनभित्रै पनि यस्तो अवस्थाले अनुसन्धान अधिकृतहरूलाई हतोत्साहित बनाइरहेको छ । यस्ता चुनौती अन्त्य गर्न प्रहरी नेतृत्वले ठोस पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

हालै नियुक्त प्रहरी प्रमुख खापुङले यस किसिमका चुनौतीलाई सम्बोधन गर्दै अनुसन्धान अधिकृतहरूमा आत्मविश्वास जगाउने, निष्पक्षता कायम गर्ने र राजनीतिक हस्तक्षेपविहीन वातावरण बनाउनुपर्ने दबाब बढ्दो छ । ‘समय अनुसार विभिन्न किसिमका समस्याहरू आउँछन् नै, ती चुनौतीहरूको सामना गर्नुपर्छ,’उनले भने ‘यदि चुनौती र समस्या नआउने भए प्रहरी सङ्गठनको आवश्यकता नै पर्ने थिएन ।’