२५ लाख बिगो भएका बैंकिङ्ग कसुर मुद्दा फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंकी ६१ वर्षीया विमला अधिकारी रहेकी छिन्। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलले  पक्राउ अनुमति दिएको थियो।

उक्त आदेशका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई गौरीघाटबाट पक्राउ गरेको हो।

पक्राउ परेकी अधिकारीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनीमाथि २५ लाख रुपैयाँ बिगो रहेको बैंकिङ्ग कसुर मुद्दा चलिरहेको प्रहरीले जनाएको छ।