फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन


काठमाडौं – नेपाल दूरसञ्‍चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई निष्क्रिय गर्न निर्देशन दिएको हो ।

‘सञ्‍चार तथा सुचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्‍चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्‍यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ।’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तर, सूचीकरण हुन नआएपछि सरकार निष्क्रिय बनाउने निर्णयमा पुगेको हो।