३२औँ आईजीपी चन्द्रकुवेर खापुङले कार्यभार सम्हाले


काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले कार्यभार सम्हालेका छन्। खापुङलाई आज गृह मन्त्रालयमा आयोजित समारोहमार्फत दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। 

गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन्। उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।

हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन्।