काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को पदका लागि प्रतिस्पर्धा तीव्र भइरहेको छ । चार एआईजी पदका लागि हाल ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी ) हरू प्रतिस्पर्धामा रहेका छन्। प्रशासन विभाग प्रमुख कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेर हदका कारण भदौ १४ मा नै अवकाशमा गइसकेका छन्।
यस्तै,आज रातिबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी पनि अवकाश हुँदैछन्, भने केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख भने प्रहरी प्रमुखमा बढुवा भैसकेका छन्।
जसले गर्दा उक्त पदका लागि एआईजी आवश्यक परेको छ। प्रतिस्पर्धामा रहेका मुख्य प्रतिस्पर्धीहरूमा २०८१ मङ्सिरमा बढुवा भएका सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेका छन् । उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट भर्ना भई पछि नेपाल प्रहरीमा आएका थिए । जसले गर्दा भर्ना भएको आधारलाई मानेर बढुवा गरेमा राठौर, चतुर्वेदी, श्रेष्ठ र विक एआईजीमा बढुवा हुने निश्चित जस्तै रहेको छ । उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै एआईजी बनिसकेका छन् । उनलाई भावी आईजीपीको प्रतिस्पर्धी मानिन्छ।
हाल सुशील सिंह राठौर प्रहरी प्रधान कार्यालयमा, चतुर्वेदी मधेस प्रदेश प्रहरी प्रमुख, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र डम्बरबहादुर विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। प्रतिस्पर्धामा रहेका अर्को समूह भने २०८१ पुस २६ मा डिआईजी बढुवा भएका अधिकारी छन्। सो ब्याचबाट कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की, लुम्बिनी प्रदेश प्रमुख राजेन्द्रप्रसाद भट्ट, गण्डकी प्रदेश प्रमुख दिनेशकुमार आचार्य, बागमती प्रदेश प्रमुख अरुण पौडेल र सीआईबीका गोविन्द थपलिया एआईजीको दौडमा छन्।
त्यस्तै, गत जेठमा मात्रै डिआईजीमा बढुवा भएका सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ भने यस पटक एआईजीमा पुग्ने सम्भावना कम देखिन्छ।





About Us
प्रतिक्रिया