१० वाणिज्य बैंकको लेखापरिक्षण गर्न बंगलादेशी कम्पनीले पायो ठेक्का, ५ महिनामा सक्ने सम्झौता


काठमाडौं – नेपालका ठूला १० वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको हवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले ६२ लाखमा ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आगामी ५ महिनाभित्र सक्ने गरी बंंगलादेशको हवलदार युनुस एण्ड कम्पनीले ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलरमा ठेक्का पाएको हो ।

केन्द्रीय बैंकले तेस्रो पटकको प्रयासमा बंगलादेशको कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । यससँगै सो कम्पनीले आगामी ५ महिना भित्रमा नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदन तयार पारेर नेपाल राष्ट्र बैंकलाई बुझाउने छ ।

खासगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा प्रवाह गर्नुपूर्व नेपालका ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट अडिट गराउनुपर्ने सर्त राखेको थियो । सो सर्त पुरा गरेपछि मात्रै आईएमएफले नेपाललाई विस्तारित कर्जा प्रदान गर्ने प्रतिवद्धता राखेको थियो ।

त्यसयता, राष्ट्र बैंकलाई पटक-पटक अन्तर्राष्ट्रिय लेखापरीक्षण गराउन दबाब दिँदै आइरहेको थियो । यद्यपी, नेपाल राष्ट्र बैंकले पटक-पटक प्रयास गर्दा समेत सफल हुन सकेको थिएन । सुरुमा भारतीय कम्पनीसँग ठेक्का भएपनि रद्ध भएको थियो ।

यसपछि एकपटक बंगलादेशकै कमपनीसँगको सम्झौता समेत रद्ध भएको थियो । तेस्रो प्रयासमा भने बंगलादेशको कम्पनीसँग साढे ६२ लाख रुपैयाँमा नै लेखापरीक्षण सम्झौता गरेको हो ।