बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला, शुल्क सात हजार पाचँ सय



काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित छनौट समितिले ७ दिने म्यादसहित सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार योग्यता पुगेका नेपाली नागरिकले अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन्।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई सम्पर्क कार्यालय तोकेर समितिले शनिबार सूचना प्रकाशित गरेको हो। इच्छुक व्यक्तिहरूलाई योग्यता प्रमाणित गर्ने कागजात र कार्ययोजनासहित सात दिनभित्र आवेदन पेस गर्न अनुरोध गरिएको छ। खुला प्रतिस्पर्धामार्फत अध्यक्ष चयन हुने भएकाले योग्य इच्छुक नेपाली नागरिकले गोप्य खामबन्दीमा आवेदन पेस गर्नुपर्नेछ। आवेदनका लागि ७,५०० रुपैयाँ शुल्क तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने समितिले जनाएको छ।

यसअघि भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको उक्त पदमा नयाँ नियुक्तिका लागि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य डा. खोमराज खरेल रहेका छन्।