चीनको २२ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी


काठमाडौं । २२ अर्ब रुपैयाँको ऋणमा बनेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी थालिएको छ । चीनको ऋण लागतमा बनेपनि अहिलेसम्म यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । निर्माण सम्पन्न भएको २ वर्ष भएपनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको विमानस्थलबाट उडानको तयारी थालिएको हो ।

विमानस्थल निर्माणमा सरकारले चीनसँग वैदेशिक ऋण लिएको छ । तर, विमानस्थल नचल्दा चीनको ऋण तिर्ने भरपर्दो माध्यम छैन । यद्यपी, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएमा भने ऋण तिर्ने रकम जोहो गर्न सकिनेछ । जसबाट नेपालको थाप्लोमा रहेको ऋणको बोझ समेत घट्न सहज बन्नेछ ।

चीनको एक्जिम बैंकको ऋण लगानी र चिनियाँ ठेकेदार कम्पनीले बनाएका कारणले भूराजनीतिक मारमा समेत विमानस्थल परेको छ । यहीकारण, भारतले यसतर्फ उडानको अनुमति नदिएपनि चीनकै एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको तयारी थालेको हो ।

चीनको सिचुवान एयरलाइन्सले काठमाडौं–छेन्दु–अष्ट्रेलिया र काठमाडौं–सिंगापुर–अष्ट्रेलिया उडानको तयारी थालेको हो । यसबाहेक भुटानको भुटान एयरलाइन्सले समेत उडानको तयारी थालेको जनाइएको छ ।