काठमाडौं – एफ-वान सफ्ट इन्टरनेशनल प्रालि (फिल्प्स) ले विश्वव्यापी रूपमा मान्यता प्राप्त फिनटेक विशेषज्ञ ब्रेट किङलाई बोर्ड सल्लाहकारको रूपमा नियुक्त गरेको छ । बाेर्डले सल्लाहकारकाे रूपमा किङलाई नियुक्त गरेसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सञ्चालित ग्राहक-केन्द्रित, र एम्बेडेड वित्तीय समाधानहरूको विकासमा तीव्रता दिने अपेक्षा गरेकाे छ ।
फिल्प्सले द्रुत गतिमा बढ्दो बजारहरूमा बैंक, फिनटेक, र दैनिक प्रयोगकर्ताहरूका लागि अर्को पुस्ताको डिजिटल वित्त समाधान प्रदान गर्ने लक्ष्य राखेको छ। किङ मोभेनका संस्थापक हुन् र विश्वव्यापी रूपमा श्रेणीवद्ध पोडकास्ट ब्रेकिङ बैंक्स र द फ्युचरिस्टका होस्ट पनि हुन्। फिनटेक विज्ञ किङले १८ देशमा नियामक र सरकारहरूलाई सल्लाह दिएका छन्।
किङले वर्ल्ड गभर्नमेन्ट समिट, वेब शिखर सम्मेलन, TED, CES, Money20/20 लगायतका कार्यक्रमहरूकाे सम्बाेधन गर्नुका साथै, HSBC, Citibank, Standard Chartered, Emirates NBD, Microsoft, Google, VISA, र Mastercard जस्ता अग्रणी वित्तीय संस्था र कम्पनीहरूसँग सहकार्य गरेका छन्।
फिल्प्स अन्तर्गत रहेको एफ-वान सफ्टले नेपालमा दुई दशकभन्दा बढी अनुभवसहितको अग्रणी डिजिटल वित्तीय समाधान प्रदायक हो। इसेवा फाेन पे लगायतका थुप्रै ब्रान्डहरूसँग सहकार्य गर्दै डिजिटल भुक्तानी र वित्तीय सेवा क्षेत्रमा एफ-वान सफ्टले काम गर्दै आएको छ।
किङ बोर्ड सल्लाहकारको रूपमा नियुक्त भएसँगै, फिल्प्सले अर्बौं प्रयोगकर्ताहरूका लागि एआइ सञ्चालित, एम्बेडेड, र खुला वित्तीय इकोसिस्टम निर्माण गर्ने आफ्नो लक्ष्यमा अझ तीव्रता ल्याउने कम्पनीकाे अपेक्षा छ ।






About Us
प्रतिक्रिया