काठमाडौं – ‘छिट्टै धेरै कमाउने’ सपना देखाउँदै प्रलोभनमा पारेर सर्वसाधारण ठगीका घटनामा फसाउने क्रम तीव्र गतिमा बढिरहेको छ । सामाजिक सञ्जाल, अनलाइन विज्ञापन, फर्जी वेबसाइट र मोबाइल एपमार्फत ठगहरूले आफूलाई वैध व्यवसायी, लगानीकर्ता वा सरकारी प्रतिनिधि भनेर प्रस्तुत भएर ठगी गर्ने प्रवृत्ति बढ्दो छ ।
सूचना प्रविधिको विकासले झन् यस्ता ठगहरूलाई थप सहज बनाइरहेको छ । मोबाइल बैंकिङ्ग, अनलाइन पेमेन्टलगायतका डिजिटल माध्यमको प्रयोगले वित्तीय कारोबार सहज बनेको भए पनि ठगहरूले यीनै प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई लक्षित गर्ने गरेका छन् ।
साइबर सुरक्षा सचेतनाको अभाव, फर्जी पहिचानको प्रयोग र छिट्टै कमाइको प्रलोभनमा परिने प्रवृत्तिले अपराधको जोखिम झन् बढाएको हो यस्ता अपराधका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता युवराज खड्कासँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अंश –
आर्थिक तथा वित्तीय अपराध के हो ? यस्ता अपराधलाई कसरी अनुसन्धान गर्दै आउनुभएको छ ?
पछिल्लो समयमा बढ्दै गइरहेको आर्थिक तथा वित्तीय अपराधलाई मध्यनजर गर्दै प्रहरी र सरकारको छलफलपछि आर्थिक तथा वित्तीय अपराध महाशाखाको स्थापना गरिएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको नाममा वा संस्थालाई नै झुक्क्याउने अभिप्रायले ठगी गर्नु वा आर्थिक पक्षका लागि विभिन्न माध्यमहरूबाट ठगी गर्नु नै आर्थिक तथा वित्तीय अपराध हो । यस्ता अपराधलाई कानुनले नै अपराधको किसिम अनुसार सजायको व्यवस्थासमेत गरेको छ ।

पछिल्लो समयमा अपराधीहरूले कस्तो विधिको प्रयोग गरी ठग्ने गरेका छन् ?
अपराधीहरूले विभिन्न तरिका अपनाएर ठगी गरिरहेका हुन्छन् । व्यक्ति–व्यक्तिबीचमा हुने ठगीको तरिका छुट्टै हुन्छ । हाल बैंकका कर्मचारीहरूकै संलग्नतामा संस्थालाई नै धराशायी बनाएर व्यक्ति वा समूहले नै रकम हत्याउने गरेका छन् । त्यसैगरी प्रविधिको प्रयोग गरेर डिजिटल स्क्यामहरू पनि हुने गरेका छन् । पछिल्लो समयमा भौतिक उपस्थितिमा भन्दापनि डिजिटल माध्यमहरूबाट ठगी गर्ने क्रम बढ्दै गइरहेको छ । एउटा कुनामा बसेर अर्को कुनाका व्यक्तिहरूको रकम ठगिरहेका हुन्छन् ।
कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कहिले पनि ओटिपी मागिँदैन । यदि कसैले माग्यो भने उक्त व्यक्ति स्क्यामर हो, भने बुझ्न आवश्यक छ ।
ठगहरू प्रायः ‘इनभेस्ट गर्नुस्, एक महिनामा रकम दोब्बर हुन्छ’ वा ‘मोबाइल चलाएरै हजारौँ कमाउनुहोस्’ जस्ता प्रस्ताव राखेर मानिसहरूलाई विश्वास दिलाउने गर्छन् । धेरैजसो पीडितहरूले यसअघि यस्ता योजनाको बारेमा पर्याप्त जानकारी नलिई लगानी गर्ने गरेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई माध्यम बनाएर गरिने ठगीको अवस्था कस्तो रहेको छ ? यस्ता घटना कसरी कम गर्न सकिन्छ ?
बैंक तथा वित्तीय संस्थाहरूको प्रतिनिधिहरू बोलेको भन्दै ओटिपी (वन टाइम पासवर्ड) माग्दैमा ओटिपी जस्तो संवेदनशील एवं गोप्य राख्नुपर्ने कोड सजिलै अर्को व्यक्तिलाई दिने प्रवृत्तिले गर्दा सर्वसाधारणको रकम ठगी हुने गरेको छ । त्यसका लागि सर्वसाधारणसमेत सजक र सचेत हुन आवश्यक छ ।
कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कहिले पनि ओटिपी मागिँदैन । यदि कसैले माग्यो भने उक्त व्यक्ति स्क्यामर हो, भने बुझ्न आवश्यक छ । कतिपय अवस्थामा तपाईँको एकाउन्ट ‘सस्पेक्टेड’ भएको छ, केवासी भेरिफाइ गर्नुपर्ने छ भन्दै फोन आउने गर्छन् । ग्राहकको खाता भएकै संस्थाबाट बोलेको भन्दै फोन आएमा सम्बन्धी निकायको आधिकारी हो वा होइन, एक पटक जाँच गरेर मात्र कारोबार गर्ने र आफ्नो पासवर्ड र ओटिपी जस्ता संवेदनशील जानकारी अरूलाई नदिँदा यस्ता ठगीका घटनाहरूमा कमी आउँछ ।
हुण्डी र क्रिप्टोकरेन्सी कारोबारको अवस्था अहिले कस्तो छ ?
अनलाइन गेमिङ, विदेशी विनिमय कारोबार (फरेक्स ट्रेडिङ), र फर्जी ब्लकचेन योजनामार्फत ठगहरूले हत्याएको रकम हुण्डीबाट विदेश पठाउने गर्छन् । क्रिप्टोकरेन्सी कारोबारको घटना पछिल्लो समयमा बढ्दै गइरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा नै पनि केही समय अघि मात्र दुईवटा केस आएको थियो । जसमध्ये एउटा केसमा ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ गरिएको थियो, भने १ अर्ब ५० करोड भन्दा माथिको क्रिप्टोकरेन्सी कारेबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ परेका थिए । यो हालसालै सरकारी वकिल कार्यालयमा बुझाइएको छ।
क्रिप्टोकरेन्सी कारोबारी बढ्नुको कारण के हो ? यस्ता कारोबार कम गर्न के गर्नुपर्ला ?
नेपाल राष्ट्र बैंकले पटक–पटक गरी नेपालमा क्रिप्टोकरेन्सी जस्ता अवैध करेन्सीहरूको प्रयोग गर्नु अवैध भनेको छ । तर पनि कतिपय अवस्थामा सर्वसाधारणलाई जानकारी नै नहुने गरेको पाइन्छ । यस्ता करेन्सीहरूको प्रयोग गर्नु दण्डनीय रहेको सबैले थाहा पाउन आवश्यक छ । विभिन्न सञ्चारमाध्यमहरूको मातहतबाट जनचेतना फैलाउँदा थाहा नभई यस्ता कारोबारमा संलग्न हुनेको संख्यामा कमी आउने छ । यस्ता केसहरूमा प्रहरीले निरोधात्मक प्रक्रियाले कारबाही गर्दै आइरहेको छ ।
आर्थिक तथा वित्तीय अपराध बढ्नुको कारण के हो ?
अहिलेका मान्छेहरू बढी महत्त्वाकाङ्क्षी बन्नुका साथै उनीहरूमा मिहिनेत नै नगरी धनी बन्ने सपनाको विकासले गर्दा यस्ता क्राइम बढिरहेका छन् । ठगहरूको त आपराधिक मानसिकता हुने नै भयो, तर सर्वसाधारण व्यक्तिहरू वा जो पीडित हुन्छन्, उनीहरू पनि विना मिहिनेत अर्थाेपार्जन गर्न सकिन्छ भन्ने सोचले आर्थिक अपराधको सिकार भइरहेका छन् ।
तपाईँको विचारमा आर्थिक अपराधविरुद्ध जनचेतना कसरी फैलाउन सकिन्छ ? आर्थिक अपराधका मुद्दाहरूलाई समाधान गर्न कस्ता चुनौतीहरू आइपरेका छन् ?
ठगी गरिएको रकम ठगले तह–तहमा भाडामा लिएको बैंकका खाताहरू राख्छ, जसले गर्दा ठगी भएको रकम रिकभर गर्ने र ठगसम्म पुग्न नै गाह्रो पर्ने चुनौती छ । यस्ता अपराधहरू विश्वको जुनसुकै कुनामा बसेर गर्न सकिने भएकाले ठगी देशभित्रको मात्र हुँदैन ।
- आर्थिक अपराधका मुद्दाहरू अनुसन्धान गरी न्यायालयसम्म पुर्याउने एक स्पष्ट कानुनी प्रक्रिया त छँदै छ । त्यो बाहेक पर चक्रीहरूलाई विश्वास गरी आफ्नो ओटिपी, बैंक विवरण वा पासवर्ड दिँदा वा ठगीको घटना घटिसकेपछि अनुसन्धान र सम्पत्ति रिकभर गर्ने प्रक्रिया हुन्छ । तर, यसअघि नै ठगी हुन नदिन सर्वसाधारण सचेत हुन अत्यन्त आवश्यक छ ।
आर्थिक अपराधका मुद्दाहरू अनुसन्धान गरी न्यायालयसम्म पुर्याउने एक स्पष्ट कानुनी प्रक्रिया त छँदैछ । त्यो बाहेक पर चक्रीहरूलाई विश्वास गरी आफ्नो ओटिपी, बैंक विवरण वा पासवर्ड दिँदा वा ठगीको घटना घटिसकेपछि अनुसन्धान र सम्पत्ति रिकभर गर्ने प्रक्रिया हुन्छ । तर, यसअघि नै ठगी हुन नदिन सर्वसाधारण सचेत हुन अत्यन्त आवश्यक छ ।
डिजिटल माध्यमबाट अपराध कम गर्न प्रहरीले के के गरेको छ ?
प्रहरीमा पनि डिजिटल माध्यमबाट हुने अपराधहरूको अनुसन्धान गर्न आफ्नो जनशक्ति अनुसारको विभिन्न प्रकारका स्वदेश र विदेशमा तालिम सञ्चालन भइरहेको छ ।
‘नेप्से एआई’ नामक एपबाट ठगी हुने घटना सीआईबीमा कतिको आएको छ ?
यस एपबाट ठगी भएको एउटा केस सीआईबीमा आएको थियो । सामाजिक सञ्जालमा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको रहेछ । सीआईबीमा उनको २८ लाख ६१ हजार ठगीको केस आएको थियो । त्यसपछि नयाँ खालको ट्रेन्ड देखेर हामीले प्रेस विज्ञप्ति नै निकालेका थियौँ ।





About Us
प्रतिक्रिया