एक हजारका नयाँ नोट छाप्दै केन्द्रीय बैंक, गर्यो टेण्डर आह्वान


काठमाडौं । नेपाल राष्ट्र बैंकले ४३ करोड थान हजार रुपैयाँ दरका नयाँ नोट छपाइ र आपूर्ति गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ । यसमा पूर्व–योग्यता प्राप्त सुरक्षा छापाखानाहरू मात्र सहभागी हुन पाउनेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ असोज २४ गते दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे खोलिनेछ । यसका लागि बोलपत्र कम्तीमा १२० दिनसम्म वैध हुनुपर्नेछ । बोलपत्रसँगै न्यूनतम ६ करोड ४० लाख रुपैयाँ बराबरको जमानत अनिवार्य गरिएको छ, जसको म्याद ०८२ फागुन २५ सम्म कायम हुनुपर्नेछ ।

टेन्डर दस्तावेज ०८२ असोज ९ गतेसम्म खरिद गर्न सकिनेछ। दस्तावेज शुल्क नेपाली रुपैयाँमा २० हजार तोकिएको छ । वैकल्पिक रूपमा अमेरिकी डलर, युरो वा पाउण्ड स्टर्लिङमा पनि शुल्क तिर्न सकिने व्यवस्था छ । शुल्क राष्ट्र बैंककै खातामा जम्मा गर्नुपर्नेछ ।

राष्ट्र बैंकले प्री–बिड बैठक भदौ ३० गते बिहान ११ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा राखेको छ । साथै, कालो सूचीमा रहेका कम्पनी वा तिनका सञ्चालक–लगानीकर्ताहरू यस टेन्डरमा सहभागी हुन नपाउने प्रावधान रहेको छ ।