आज हामी अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा कसरी कृत्रिम बुद्धिमत्ता एआईले क्रान्ति ल्याइरहेको छ भन्ने विषयमा कुरा गर्नेछौँ । बीमा उद्योगमा एआईको प्रयोगले नयाँ आयाम थपिरहेको छ । चाहे त्यो ग्राहक सेवादेखि जोखिम मूल्यांकनसम्म किन नहोस् । अन्तर्राष्ट्रियस्तरमा एआईले बीमा कम्पनीहरूलाई ठुलो मात्रामा डेटा विश्लेषण गर्न सजिलो बनाइरहेको छ ।
एआईले जोखिम मूल्यांकनलाई तीव्र र सटीक बनाउँछ । जसले कम्पनीहरूलाई दाबी प्रक्रियालाई स्वचालित गर्न र धोखाधडी घटाउन मद्दत गरिरहेको छ । धेरै देशहरूले एआईको प्रयोग गरिसकेका पनि छन् । तथ्यांकअनुसार अमेरिका बीमामा सबैभन्दा धेरै एआई प्रयोग गर्ने देशको सूचीमा छ । यसैगरी, बेलायत, चीन र जापान समेत बीमामा एआईको अत्यधिक प्रयोग गर्ने सूचीमा पर्छन् ।
विश्वभर हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेको छ । दाबी सेवा प्रदायक ‘गालाघेर बास्सेट’ले गरेको सर्वेक्षणमा विश्वका अधिकांश बीमकहरुले दाबी भुक्तानी प्रक्रिया, अन्डरराईटिङ र ग्राहकहरूको समस्या समाधान गर्नका लागि एआई च्याटबट र एआई जेनेरेटिभको प्रयोग गरिरहेको तथ्य सार्वजनिक गरेको छ ।
सर्वेक्षणमा सन् २०२४ मा बीमकहरुले एआई प्रविधिको प्रयोग, मूल्य निर्धारणको बारेमा जानकारी दिन अन्डरराईटिङ जोखिमको उचित मूल्यांकन र कर्मचारीलाई टिकाइ राख्नका लागि विभिन्न रणनीतिहरूमा जोड दिइरहेको पाइएको छ । विभिन्न अध्ययन प्रतिवेदनहरुले बीमा कम्पनीले ग्राहक सेवामा ६७ प्रतिशत र दाबी प्रक्रियामा ४५ प्रतिशत एआईको प्रयोग गरिरहेको देखाएका छन् ।
यसबाहेक, जोखिम व्यवस्थापनमा ३१ प्रतिशत र ‘अन्डरराईटिङ’ प्रक्रियामा २५ प्रतिशत एआई प्रविधिको प्रयोग भइरहेको छ । विश्वका ४४ प्रतिशत बीमकहरु दाबी भुक्तानी प्रक्रियामा एआई च्याटबट र जेनेरेटिभ एआईको प्रयोग गर्ने प्रक्रियामा रहेको सर्वेक्षणमा उल्लेख छ । साथै, ४२ प्रतिशत बीमकहरुले भने यी प्रविधिहरूलाई पूर्णरुपमा अपनाइसकेका छन् । सर्वेक्षणमा उत्तर अमेरिका, बेलायत, अस्ट्रेलिया र न्यूजील्याण्डमा बीमा व्यवसाय गरिरहेका १५० बीमकहरुलाई समेटिएको थियो ।
यस्तै, भारतको पोलिसी बजार जस्तो कम्पनीहरूले पनि दाबी फछ्र्यौटको लागि प्रयोग गर्न थालिसकेका छन् । पोलिस बजारका अनुसार एआई प्रणाली लागू गरेदेखि प्लेटफर्मले दाबी प्रक्रियाका लागि प्रारम्भिक धोखाधडी पत्ता लगाउने कार्यमा १४ गुणा सुधार देखिएको छ । भविष्यमा, एआईले बीमा क्षेत्रलाई अझ स्मार्ट बनाउने छ । मौसम पूर्वानुमान र स्वास्थ्य डेटासँग एकीकृत भएर यो प्राकृतिक प्रकोप वा रोगको जोखिम पहिचानमा सहयोगी बन्न सक्छ ।
यो प्रविधिले विश्वभरका करोडौं मानिसहरूलाई सुरक्षित र समृद्ध बनाउन सक्छ । साथै, बीमा कम्पनीहरुमा पनि काम गर्न सहज हुनेछ । एआईले बीमा क्षेत्रलाई नयाँ उचाइमा र्पुयाइरहेको छ । यो प्रविधिको प्रयोगले हाम्रो वित्तीय भविष्य सुरक्षित हुने आधार तयार गर्छ ।





About Us
प्रतिक्रिया