कर्णाली बैंक घाेटाला प्रकरण

कर्णाली विकास बैंकलाई राष्ट्रियस्तरको बनाउन सञ्चालक समितिमा प्रस्ताव लगिँदै


काठमाडौं – नेपाल राष्ट्र बैंक व्यवस्थापनले कर्णाली विकास बैंकलाई राष्ट्रियस्तरको बैंक बनाउने प्रस्ताव बोर्ड बैठकमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ । बैंकिङ्ग समाचारलाई प्राप्त सूचनाअनुसार आउँदो बोर्ड बैठकमा नै कर्णाली विकास बैंकलाई राष्ट्रियस्तरको बैंक बनाउने प्रस्ताव लगिन थालेको हो ।

‘अबको एक दुई दिनमा नै बैंकको बृहत् अध्ययन प्रतिवेदन (डीडीए रिपोर्ट) सार्वजनिक हुँदैछ,’ बैंक स्रोतले भन्यो, ‘लगत्तै बोर्ड बैठकमा प्रस्ताव लग्ने गरी प्रक्रिया अघि बढेको छ।’ गत पुषदेखि कर्णालीको व्यवस्थापन राष्ट्र बैंकबाट खटिएको तीन सदस्यीय टोलीले गर्दै आएका छन् । कर्णालीमा समस्या आएपछि केन्द्रीय बैंकबाट खटिएका उनीहरूले त्यसयता पूर्णरुपमा व्यवस्थापन सम्हाल्दै आइरहेका छन् ।

बैंकले तिर्नुपर्ने कूल रकम ४ अर्ब ३० करोड रुपैयाँ छ भने बैंकमा रहेको निक्षेप, कर्जा वितरणबाट उठ्ने रकम लगायत कूल सम्पत्ति मात्रै २ अर्ब ३० करोड मात्रै छ । यसअनुसार बैंकले २ अर्ब दायित्व तिर्न रकम जुटाउन सक्ने स्थिति नरहेपछि पुँजी बढाएर राष्ट्रिय स्तरको विकास बैंक बनाउने तयारी थालिएको हो ।

‘लगत्तै बस्ने सञ्चालक समितिको बैठकमा नियमन विभागले प्रस्ताव लैजानेछ,’ उनले भने, ‘तर, प्रस्तावलाई सञ्चालक समितिले स्वीकृत गर्नुपर्छ ।’ यदि बोर्ड बैठकले यो प्रस्ताव स्वीकृत गरेमा कर्णाली विकास बैंकको पुँजी ५० करोडबाट बढाएर २ अर्ब ५० करोड बनाउनुपर्ने छ ।