काठमाडौं – तेस्रो संस्करणको ‘नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५’को प्रतिवेदन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुझेका छन् । अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्यायले एकमुष्टरुपमा यही वर्ष २०८२ को जेठ २२ गते सम्पन्न तेस्रो संस्करणको बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझेका हुन् ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको समेत उपस्थिति थियो । बैंकिङ्ग समाचारले विगत ३ वर्षदेखि प्रत्येक वर्ष राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्श आयोजना गर्दै आइरहेको छ । देशको बैंकिङ्ग क्षेत्रको दिगोपना, स्थायित्व र दीर्घकालीन रणनीतिक महत्वका विषयमा छलफल गर्दै नीतिगत बाटो पहिल्याउन सहयोगी भूमिका खेल्ने लक्ष्यसहित डिस्कोर्श आयोजना हुँदै आइरहेको छ ।

तेस्रो संस्करणको नेश्नल बैंकिङ्ग डिस्कोर्शको प्रतिवेदन बुझाउँदै बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बैंकिङ्ग डिस्कोर्शमा उठेका विषयहरू नेपालको बैंकिङ्ग क्षेत्रलाई थप मजबुत र दिगो बनाउनतर्फ केन्द्रित रहेको बताए । यस्तै, ढुंगेलले असार २७ गते सार्वजनिक मौद्रिक नीतिमा समेत धेरै विषयहरू समेटिएको बताए ।
केन्द्रीय बैंकले असार २७ गते ल्याएको चालू वर्षको मौद्रिक नीतिमा राखिएका ‘रेगुलेटरी स्याण्डबक्स’, नियो बैंक, एसेट म्यानेजमेन्ट कम्पनीको आवश्यकता र वित्त तथा मौद्रिक नीतिबीचको तालमेलका विषयमा डिस्कोर्शमा छलफल भएको थियो । नेपालको बैंकिङ्ग क्षेत्रमा यी आवश्यकता औँल्याउँदै सकिएको डिएकोर्शको प्रभावस्वरुप मौद्रिक नीतिमा समेटिएका थिए । यसअघिका डिस्कोर्शमा ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’को समेत छलफल भएको थियो ।

डिस्कोर्शमा उठेका विषयहरूलाई समेटेर बनाइएको प्रतिवेदनमा विभिन्न विषयमा सुझाव दिइएको छ । जसमा बैंकिङ्ग क्षेत्र दिगो र भरपर्दो बनाउन आवश्यक र नियामकीय निकायले अङ्गीकार गर्नुपर्ने तथ्य लगायत समेटिएका छन् । डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए भने नेपाल राष्ट्र बैंकका गभर्नरको भर्चुअल उपस्थिति रहेको थियो भने सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।
यस्तै, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्त संस्था संघका अध्यक्षहरूको समेत उपस्थिति थियो । यसबाहेक, अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति थियो । कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्रमा छलफल भएको थियो । जसमधये, ‘नेपालमा कर्जा विस्तारको चुनौती, साना तथा मझौला उद्योगमा कर्जा विस्तारको समस्या, ‘ओपन बैंकिङ्ग र फिनटेक र वित्त र मौद्रिक नीतिको तालमेल नामक शीर्षक थिए ।

यसबाहेक, डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘कि नोट स्पिच’ दिएका थिए भने पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतसँग विशेष सत्र भएको थियो । यिनै सत्रगत छलफलहरूमा उठेका महत्त्वपूर्ण विषय राखेर बैंकिङ्ग समाचारले प्रतिवेदन तयारे अर्थमन्त्रालयमा बुझाएको हो । यसअघि बैंकिङ्ग समाचारले नेपाल राष्ट्र बैंकलाई समेत डिस्कोर्शको प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदन बुझ्नेक्रममा अर्थमन्त्री पौडेलले बैंकिङ्ग समाचारले डिस्कोर्शमार्फत देशको बैंकिङ्ग क्षेत्रको विकास र स्थायित्व बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए । यस्तै, यस खालको कार्यक्रमको आयोजना र आयोजनामा भएको छलफलबाट निस्केका महत्त्वपूर्ण विषयवस्तु समेटेर तयार पारिएको प्रतिवेदनले नीति निर्माण र समग्र क्षेत्रगत विकासको कार्य योजना बनाउन समेत महत्त्वपूर्ण योगदान पुग्ने बताए ।



About Us
प्रतिक्रिया