काठमाडौं – बीमा कम्पनीहरुले सम्पत्ति शुद्धीकरण निवारणका लागि छुट्टाछुट्टै नीति तथा कार्यविधि बनाउनुपर्ने व्यवस्था प्राधिकरणले अघि सारेको छ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ, आतंककारी गतिविधि तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी रोकथामका लागि नयाँ निर्देशनमा उल्लेख गरिएको छ ।
निर्देशनले बीमा क्षेत्रमार्फत हुन सक्ने अवैध गतिविधिलाई रोक्न ग्राहक पहिचानदेखि लिएर शंकास्पद कारोबार प्रतिवेदन सम्मका विषयलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले बीमालेख जारी गर्दा वा भुक्तानी गर्दा दुरुपयोग रोक्न पर्याप्त सावधानी अपनाउनुपर्ने पनि स्पष्ट गरेको छ।
बीमा कम्पनीले ग्राहक विवरण अद्यावधिक गर्न, वास्तविक लाभग्राही पहिचान गर्न तथा सबै अभिलेखलाई सुरक्षित राख्नुपर्नेछ। उक्त निर्देशनमा ग्राहकको पहिचान अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नागरिकता प्रमाणपत्रको विद्युतीय विवरणमार्फत सुनिश्चित गर्नुपर्ने व्यवस्था समेत गरेको छ। बीमाशुल्क र दाबी भुक्तानीलाई औपचारिक बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ। अत्यावश्यक परिस्थितिमा मात्र नगद कारोबार गर्न सकिने प्रावधान राखिएको छ।





About Us
प्रतिक्रिया