एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिनेहरु बढे


काठमाडौं – आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ खर्ब बढी रेमिट्यान्स भित्र्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टले विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको देखाएको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । गत वर्ष श्रम स्वीकृति लनेहरुपनि बढेको राष्ट्र बैंकको तथ्यांक छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ लाख १९५ रहेको थियो ।