अलग्गै डिजिटल बैंक जसरी चलाउन खोजिएपछि बन्द भयो ‘ओरेन्ज एनएक्सटी’


काठमाडौं – डिजिटल बैंकको अवधारणाअनुसार चलाउन खोजेपछि नेपाल राष्ट्र बैंकले ओरेन्ज एनएक्सटी बन्द गरेको खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी सेवा प्रदायककै हिसाबले डिजिटल बैंकिङ्ग सञ्चालनको सुविधा दिएको छ। तर, ओरेन्ज एनएक्सटीले भने छुट्टै डिजिटल बैंकको अवधारणाको हिसाबले सञ्चालन गर्ने नियत राखेपछि अहिलेलाई बन्द गरेको केन्द्रिय बैंकका अधिकारीहरूले जानकारी दिएका छन् ।

चालु आर्थक वर्षमा सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नियो बैंक स्थापनाको व्यवस्था गर्ने घोषणा गरेको थियो । तर, त्यसका लागि नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बाफिया संशोधन गरी डिजिटल तथा नियो बैंकलाई इजाजत पत्र दिन अलग्गै व्यवस्था गर्नुपर्ने भएको केन्द्रिय बैंकका अधिकारीहरू बताउँछन् ।

ओरेन्ज एनएक्सटीलाई डिजिटल बैंककै अवधारणाअनुसार सञ्चालनमा ल्याउन खोजिएकाले बन्द गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ती अधिकारीले भने, ‘हामीले अहिलेसम्म भुक्तानी सेवा प्रदायक वा डिजिटल बैंकिङ्गलाई निश्चित रकम कारोबारमा अनुमति दिइरहेका छौँ । तर यसमा त डिजिटल बैंककै जसरी चलाउने नियत देखियो । विगतमा केही बैंकहरूले यस्तो सेवा ल्याउन नखोजेका होइनन् । इजाजतपत्र दिने व्यवस्था नभएसम्म वैधानिक रुपमा चलाउन पाइँदैन । त्यसैले रोकेका हौँ ।’

लक्ष्मी सनराइज बैंकले एफवान सफ्टअन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा ‘ओरेन्ज एनएक्सटी’ सेवाको सुरुवात गरेको थियो । ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल सेवा ल्याउन खोजेको थियो । खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल–बेस्ड डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको थियो । हालसम्म केन्द्रिय बैंकले बैंकहरूलाई आफ्नो डिजिटल बैंकिङ्ग सेवामा बैंकका ग्राहकहरूको आफ्नै खातालाई डिजिटल माध्यमका रुपमा प्रयोग गर्ने र निश्चित सीमामा कारोबार गर्न दिएको छ ।