राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकको ‘ओरेन्ज एनएक्सटी’ डिजिटल सेवा, अहिले नै कारण सार्वजनिक नगर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटी स्थगन गरेको छ । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले यसको पुष्टि गरे । 

उनले भने ‘किन बन्द गरियो भन्ने विषयमा तत्काललाई सार्वजनिक गरिएको छैन । बैंकको सिस्टममा कैफियत देखिएको हो । अहिलेलाई उहाँहरूको यो सेवा स्थगन गरेको हो भनेर मात्रै बुझ्नुहोस्’ उनले इजाजतप्राप्त संस्थालाई कैफियतका आधारमा सेवा स्थगन गर्ने गरिएकाले यसलाई पनि त्यसरी बुझिदिन आग्रह गरे । 

लक्ष्मी सनराइज बैंकले एफवान सफ्टअन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा ‘ओरेन्ज एनएक्सटी’ सेवाको सुरुवात गरेको थियो । ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल सेवा ल्याउन खोजेको थियो । खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल–बेस्ड डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका सुविधाहरू प्रदान गर्ने दाबीसहित यो सेवा सुरु गरिएको थियो ।