बीमा क्षेत्रमा बढ्दैछ महिलाको सहभागिता


नेपालको कूल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान गर्दै आइरहेको र जोखिम भार घटाउन महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको बीमा क्षेत्रमा कूल कर्मचारीको संख्या कति होला ? त्यसमा पनि महिला वा पुरुष कर्मचारीको संख्या कति होला ? आउनुहोस् आजको यो भिडियोमा हामी यसको तथ्यांक खोतल्ने प्रयास गरौँ ।

हुन त पछिल्लो समय बैंक तथा वित्तीय र बीमा क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीयरुपमा बढ्दै गइरहेको छ । यी क्षेत्रको नेतृत्वसम्म पुगेर महिलाले आफ्नो सक्षमतालाई देखाइरहेका छन् । तर, कूल कर्मचारीको संख्या कति होला ? र महिला कर्मचारी कति होलान् ?

‘इन्ट्रेस्टिङ’ कुरा त के छ भने तथ्यांकमा आफूलाई अब्बल मान्ने बीमा क्षेत्रले कुल कर्मचारीको लैङ्गिक तथ्यांक नै निकाल्न सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेर आफूलाई पारदर्शी मान्ने, तथ्यांकमा अन्य क्षेत्रभन्दा उत्कृष्ट ठान्ने यो क्षेत्रले महिला र पुरुष कर्मचारीको आधिकारिक तथ्यांक निकाल्नै सकेका छैनन् ।

यद्यपी, विश्व बैंकले गरेको अध्ययनअनुसार नेपालका बीमा क्षेत्रमा महिलाको संख्या बढ्दै गइरहेको छ । सार्वजनिक प्रतिवेदनअनुसार सञ्चालित जीवन बीमा कम्पनीहरूमा रहेका कूल अभिकर्तामध्ये ४० प्रतिशत महिला छन् भने निर्जीवन बीमा कम्पनीहरूमा कूल २८ प्रतिशत महिला अभिकर्ता छन् ।

तर, बीमाका सेवाग्राहीको कुरा गर्ने हो भने बिक्री भएको कूल बीमालेखको ५७ प्रतिशत ‘पोलिसी होल्डर’ महिला छन् । जबकि यसमा पुरुषको हिस्सा ४३ प्रतिशत मात्रै छ । यो तथ्यांकले महिलाहरू बीमाप्रति पुरुषहरूभन्दा बढी सजग र सचेत रहेको झल्काउँछ । तर, तथ्यांकले महिलाहरूको तुलनामा पुरुषहरूले बीमालेखमा बढी ‘प्रिमियम’ तिर्ने गरेको देखाउँछ ।

पुरुषहरूले औसतमा बीमोलखका लागि १२ हजार रुपैयाँभन्दा बढी प्रिमियम बुझाउँछन् भन महिलाहरूले करिब ९ हजार ६०० रुपैयाँ बुझाउँछन् । विश्व बैंककै तथ्यांकअनुसार भुक्तानी दाबी गर्नेहरूमा समेत पुरुष नै बढी छन् । कूल बीमितमध्ये ५९ प्रतिशत पुरुष बीमितले भुक्तानी दाबी गर्छन् र महिलातर्फ ४१ प्रतिशत बीमिले मात्रै भुक्तानी दाबी गर्छन्।

औसतमा १ लाख ८० हजार रुपैयाँको दाबी पुरुषबाट आउने गरेको र महिलाहरूबाट औसतमा १ लाख ४५ हजार रुपैयाँको दाबी आउने गरेको तथ्यांक छ । यो तथ्यांकले पुरुष बीमितहरूमा महिलाहरुकोभन्दा बढी स्वास्थ्य समस्या आउने गरेको समेत बुझ्न सकिन्छ । यसले बीमा कम्पनीहरूलाई महिला सेवाग्राहीबाट तुलनात्मक रूपमा बढी नाफा हुने देखाउँछ ।

तथ्यांकहरुले नेपालको बीमा क्षेत्रमा लैङ्गिक समानता प्रवर्धन गर्न थप सहज नीति निर्माण र सचेतना आवश्यक छ भन्ने देखाउँछ । कम्पनीहरूले महिला र पुरुष बीमितहरुलाई लक्षित गरेर छुट्टाछुट्टै बीमालेख ल्याउन आवश्यक देखाउँछ । यसबाहेक, तथ्यांक विश्लेषणमा समेत जोड दिँदै व्यवसाय वृद्धिमा कम्पनीहरू र नियामकीय निकाय समेत चनाखो बन्नुपर्ने देखिन्छ ।