सप्तकोशी डेभलपमेन्ट बैंकको खुद मुनाफामा २४० प्रतिशतको वृद्धि


विराटनगर – विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा २४० प्रतिशत खुद मुनाफा वृद्धि गरेको छ । गत आवमा २ करोड २५ लाख खुद मुनाफा आर्जन गरेकोमा आव २०८१–८२ मा २४० प्रतिशतले मुनाफा वृद्धि भएर ७ करोड ६६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । खुद मुनाफाका हिसाबले बैंकको प्रति शेयर आम्दानी ९ दशमलव १८ कायम भएको हो ।

बैंकले आ.व. २०८१–८२ का लागि प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा संचालन मुनाफातर्फ १० करोड ९४ लाख रुपैयाँ आर्जन गरेको उल्लेख छ । गत आवमा बैंकले ७ करोड ९ लाख रुपैयाँ निक्षेप संलकन गरेकोमा ६.९१ प्रतिशतले वृद्धि गरी ७ करोड ५८ लाख निक्षेप पुर्‍याएको छ ।

कर्जातर्फ गत आवमा ४ अर्ब ६८ करोड रुपैयाँ लगानी भएकोमा २७.९४ प्रतिशतको वृद्धि भई ६ अर्व पुर्‍याउन सफल भएको बैंकले जनाएको छ । गत आवमा ९.६८ प्रतिशत रहेको निस्कृय कर्जाको अंश घटेर आव २०८१–८२ मा ९.१० प्रतिशत कायम भएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा ३६ वटा शाखा कार्यालयमार्फत बैंकिङ्ग कारोबार गर्दै आएको बैंकले १ लाख ३५ हजार बढी निक्षेपकर्ता र ६ हजार बढी कर्जा ग्राहकलाई सेवा प्रवाह गरिरहेको जनाएको छ ।