खराब कर्जा बढ्दा राष्ट्रिय सहकारी बैंक घाटामा, अन्य सूचक कस्ता ?


काठमाडौं – राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ४ करोड ८१ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब १५ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड १९ लाख २ हजार रुपैयाँ गरेको हो । बैंकले गत आर्थिक वर्षमा पनि लाभांश वितरण गर्न नसक्ने देखिएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको वितरणयोग्य नाफा ऋणात्ममक हुँदा बैंकले लाभांश वितरण गर्न नसक्ने देखिएको हो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३९ करोड ६५ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो ।

यस्तै, बैंकको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष २२.११ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३९.३७ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८९ करोड १५ लाख ७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५४ करोड १४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।