‘नेपालमा बढ्दैछ डिजिटल बैंकिङ्गको जोखिम, यसरी सकिन्छ बच्न’


आजकल नेपालमा बढ्दै गएको डिजिटल बैंकिङ्गको प्रयोगसँगै विद्युतीय कारोबार ह्वातै बढ्दै गएको छ । हामी बजारमा किनमेल गर्न जाँदा होस वा कुनै पनि प्रकारको कारोबार गर्दा होस अब हातमा नगद नै नचाहिने अवस्थामा पुगिसकेका छौँ। विद्युतीय कारोबारको प्रचलनसँगै बैंकहरुले बिस्तारै आफ्नो सेवामा विस्तार गर्दै आर्थिक कारोबार हुने हरेक ठाउँहरूमा पनि सोझै बैंक खाता बाट भुक्तानी गर्न मिल्ने र साथै संस्थाहरूबाट पनि ग्राहकको खातामा सोझै रकम जम्मा गर्न सक्ने सेवा दिन थालिसकेको छ ।

अझै नेपाल राष्ट्र बैंकको अनुमतिबाट सञ्चालित वालेटहरूमा बैंकको खाता लिंक गरेर भुक्तानी गर्न मिल्ने र वालेटबाट बैंक खाता बिचमा रकमान्तर गर्न पनि मिल्छ भने अझै कुनै वालेटले त वालेटमा भएको रकम बैंकको एटिएम बाट रकम निकाल्न मिल्ने सम्मको सेवा प्रदान गर्न थालेको छ । विद्युतीय कारोबारको यो दायरा मोबाइल बैकिङ्गको सेवामा र ग्राहकको वृद्धिसँगै बढ्दै गएको हो ।

प्रविधिको विकाससँगै बढ्दै गएको बैंकिङ्ग सेवा र रकमान्तरमा आएको सहजताले गर्दा अहिले ह्याकरहरूको आँखा विद्युतीय माध्यमबाट कारोबार गर्ने बैंकको ग्राहकहरू माथि पर्न थालेको छ । विगत केही समयदेखि बजारमा डिजिटल बैंकिङ्गको माध्यम बाट धेरै ग्राहकहरू ठगिन थालेको खबरले एक प्रकारको डर उत्पन्न भइरहेको अवस्थामा केही दिन अघि मात्र Nepse AI App बाट ८० करोड को ठगी भएको खबर छाइरहेको छ भने केही समय अगाडी यस्तै प्रकारको Nepali Girl भन्ने App बाट पनि धेरै ग्राहकहरू ठगीका सिकार भएका थिए ।

विद्युतीय कारोबारको सिमाना बढाएर अब भारतसम्म पुर्‍याउने तरखरमा रहेको बेलामा यस प्रकारको  ठगीले ग्राहकहरूलाई थप जोखिम बढ्ने देखिन्छ । अतः यस प्रकारको जाखिमलाई घटाउनका लागी ग्राहक तथा सेवा प्रदायकहरूले निम्न कुराहरूमा ध्यान दिन आवश्यक छ ।

विद्युतीय कारोबार गर्ने ग्राहकहरूले ध्यान दिनुपर्ने कुराहरू :

१) बैंक तथा वित्तीय एपहरू Google Play वा Store बाट मात्र डाउनलोड गर्नुहोस्।
२) फेसबुक, इन्स्टाग्राम, ह्वाटसएप वा मेसेजमा आएको लिङ्कबाट कहिले पनि एपहरू (APK) डाउनलोड नगर्नुहोस्।
३) इमेल, SMS कुनै पनि सोसियल मिडियामा आएको लिङ्कबाट बैंकिङ्ग कारोबार नगर्नुहोस्।
४) मोबाइल वा कम्प्युटरमा कहिले पनि User ID वा Password Save गरेर नराख्नु होस्।
५) आफ्नो User ID वा Password कसैलाई पनि शेयर नगर्नुहोस्।
६) आफ्नो मोबाइल वा कम्प्युटरबाट बाहेक अरू कुनै पनि मेशिनबाट बैकिङ्ग कारोबार नगर्नुहोस्।
७) आफ्नो कम्प्युटरमा थाहा नभएको साइतहरू बाट गीत, फिल्म, युट्युब भिडियो, गेम जस्ता कुनै पनि फाइलहरू डाउनलोड नगर्नुहोस्।
८) नचिनेका व्यक्तिहरूले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएप वा मेसेजमा पठाएको र शङ्कास्पद लिङ्क कहिले पनि क्लिक नगर्नुहोस्।?
९) आफ्नो गोप्य विवरणहरू User ID, Password, OTP, PIN,वा CVV र आफ्नो खाताको विवरणहरू कहिले कसैलाई पनि नदिनुहोस् । यस्तो विवरण बैंकले कहिले पनि माग्दैन ।
१०) सम्भव भए सम्म सार्वजनिक Free Wi-Fi काे प्रयोग गरेर बैकिङ्ग कारोबार नगर्नुहोस्।
११) ठुलो कारोबार मोबाइल मार्फत गरिरहने ग्राहकहरूले सके सम्म त्यही मोबाइलबाट सोसियल मिडिया नचलाउनुहोस् ।
१२) आफ्नो खातामा असामान्य कारोबार भएको शंका लाग्ने बित्तिकै Password परिवर्तन गर्ने गर्नुहोस् र तुरुन्तै खाता सञ्चालन बन्द गराउनुहोस् ।
१३) नकिनेको चिट्ठा पर्दैन र नचिनेको मान्छेले त्यतिकै तपाईँलाई पैसा दिँदैन । लोभमा नफस्नुहोस् ।

सेवा प्रदायकहरूले गर्नुपर्ने

१) इमेल मार्फत OTP पठाउन तुरुन्तै बन्द गर्ने (ग्राहकले विदेशबाट कारोबार को सुविधा मागेको अवस्थामा बाहेक)

२) एउटै User ID, Password बाट मोबाइल र इन्टरनेट बैकिङ्गको प्रयोग गर्न बाट रोक्ने ।

३) मोबाइल बैंकिङ्गको एप मा ग्राहककोLogin ID, Passwordसेभ गर्ने सुविधा रोक्ने ।

४) इन्टरनेट बैंकिङ्ग बाट कुनै पनि प्रकारको कारोबार गर्दा मोबाइलको OPT बाट मात्र कारोबार गर्न दिने । यस्तो अवस्थामा ग्राहकको मोबाइल र कम्प्युटर दुवै ह्याक नभए सम्म ठगी गर्न गाह्रो हुन्छ । 

५) हाल मोबाइल बैंकिङ्गबाट हुने कारोबारमा 2FA को रूपमा Transaction Password  वा मोबाइलको बायोमेट्रिक मात्र प्रयोग गर्ने गरेको मा ग्राहकको इच्छा अनुरूप थप OTP चाहिने वा नचाहिने सेटअप गर्न दिने ।

६) ग्राहकहरूले आफ्नो आवश्यकता अनुरूप कारोबार को सीमा तोक्न सक्ने सेवा प्रदान गर्ने

७) ग्राहकहरूले आफ्नो खाता बाट विद्युतीय कारोबार गर्न बन्द गर्न र खोल्न सक्ने सेवा प्रदान गर्ने ।

८) ग्राहकहरूको कुनै पनि सूचना वा सेटअप परिवर्तन गर्न OTP र सेक्यूरीटी प्रश्नको उत्तर सोध्ने व्यवस्था लागु गर्ने ।

९) हाल 2FA को रूपमा केही सेवा प्रदायकले OTP पठाउने गरेकोमा मोबाइल ह्याक भइसकेको अवस्थामा ह्याकरले SMS मार्फत आउने OTP पनि सजिलै पाउने हुनाले छुट्टै एपमा आधारित OTP प्रयोग गर्ने प्रविधि लागु गर्ने । यो प्रविधि अपनाएमा OTP को प्रयोगबाट हुने ठगी रोकिन्छ ।

 १०) बैंकहरुले AIमा आधारित FRMS(Fraud Risk Management System) कार्यान्वयन गर्ने । AI Baes FRMS ले Rule Baes अनियमित र शङ्कास्पद कारोबार भएमा System ले नै कारोबारमा रोक लगाउने ।   

११) बैंकहरुले डिजिटल बैकिङ्गको माध्यमलाई आयको श्रोत मात्र नमानी समग्रमा बैकिङ्ग सेवाका लागि नभई नहुने अत्यावश्यक माध्यमका रूपमा लिएर सुरक्षाको लागी थप लगानी गर्नुपर्ने ।

१२) सबै सेवा प्रदायकहरूले ग्राहकहरूलाई विभिन्न माध्यमबाट जागरूक र सचेत गर्ने कार्यक्रम नियमित रूपमा गर्ने ।

हाल ठगी कार्यमा संलग्न देखिएको समूह:

१) सोसियल मिडिया मार्फत बजार मूल्य भन्दा धेरै सस्तोमा सामान बेच्ने समूह

२) चिट्ठा परेको र उपहार पठाएको छ भनी लोभ देखाएर फोन र SMS पठाउने समूह

३) युट्युब भिडियो लाइक गरेमा पैसा दिने भन्दै फोन र SMS  पठाउने समूह

४) पैसा कमाउने तरिका र बाटो को लागि भन्दै लिङ्कमा पठाउने समूह

५) प्रलोभन दिएर अरूको बैंक खाता सञ्चालनमा लिन खोज्ने समूह

६) विभिन्न प्रकारको एप पठाएर मोबाइल कम्प्युटर ह्याक गर्ने समूह

७) फ्री मा डाउनलोड गर्न दिएर भाइरस र मालवेयर पठाउने समूह

८) विभिन्न बहानामा वा बैंक बाट फोन गरेको भन्दै OTP माग्ने समूह

(लेखक स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)का पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।)