इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ


काठमाडौं – मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका– ४ गाम्चा बस्ने रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् ।

एनसिबि अबु धाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीको लागि मानव बेचबिखन ब्युरो पठाइएको प्रहरीले जनाएको छ ।