काठमाडौं । मन्त्रीपरिषद्को बैठकले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणका अध्यक्ष ओझालाई निलम्बन गर्दै पदमुक्त गरेको हो ।
६ महिना अघि प्राधिकरणका अध्यक्षमा नियुक्त भएका ओझाले योग्यताको प्रमाणपत्र नक्कली देखाएको आरोप लागेको थियो । योग्यता र अनुभवको झुटो दाबीसहितको प्रमाण पेश गरेर अध्यक्ष बनेका ओझालाई मन्त्रीपरिषद्ले पदमुक्त गरेको हो ।
अध्यक्ष ओझामाथि अनुसन्धान गर्न मन्त्रीपरिषद् बैठकले पूर्व न्यायधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अध्यक्ष ओझाले पेश गरेको कागजात कमजोर र नक्कली भएको निष्कर्ष बुझाएको थियो ।
यही निष्कर्षका आधारमा आफ्नै मन्त्रीपरिषद्ले अध्यक्षमा नियुक्त गरेका प्रधानमन्त्री ओलीले निलम्बन गराएका हुन् । अध्यक्षमा ओझालाई नियुक्त गराउनका लागि दीपक भट्ट समूह लागि परेको बताइन्छ । सोही समूहको लबिइङका आधारमा अध्यक्षमा ओझा नियुक्त भएका थिए ।
तर, पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएसँगै राजनीतिक व्यक्ती र सिफारिस समितिका सदस्यलाई नै समस्या पर्ने देखिएपछि सरकार हच्किएको थियो । यससँगै, प्रधानमन्त्री ओली अध्यक्षबाट ओझालाई हटाउन राजी भएको बताइन्छ ।
ओझा नेपाली कांग्रेस निकट मानिन्छन् । उनको कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट सम्बन्ध छ । यही सम्बन्धलाई समेत ओझाले सदुपयोग गरेका थिए ।





About Us
प्रतिक्रिया