बुटवल – गत वर्ष राजस्व संकलनमा उल्लेख्य सुधार गरेको मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भैरहवा भन्सार कार्यालयले १० महिनापछि राजस्व लक्ष्य भेटाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज महिना पछि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन)मा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी (१०२.०२ प्रतिशत) राजस्व संकलन गरेको हो ।
४ वर्षदेखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले चालू आर्थिक वर्षको साउन महिनामा भने लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार साउन महिनाका लागि भन्सार विभागले ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य तोकेकोमा ९ अर्ब २ करोड ७१ लाख ८६ हजार राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा २.०२ प्रतिशत अर्थात् १७ करोड ८७ लाख बढी हो। गत वर्ष साउन महिनामा लक्ष्यको ८३.५४ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार मात्रै राजस्व संकलन भएको थियो।
भैरहवा भन्सारले वर्षेनी बढ्दो लक्ष्य र केही नीतिगत कारणले यसअघि ४ वर्षको अवधिमा एक महिनामा मात्रै राजस्व संकलन लक्ष्य पार भएको थियो । सूचना अधिकारी चौधरीका अनुसार गत आर्थिक वर्षको असोज महिनामा लक्ष्यभन्दा शून्य दशमलव ३९ प्रतिशत बढी राजस्व संकलन भएपनि अरू कुनै पनि महिनामा लक्ष्य पूरा हुन सकेको थिएन ।
भैरहवा भन्सारले वर्षेनी बढ्दो लक्ष्य र केही नीतिगत कारणले यसअघि ४ वर्षको अवधिमा एक महिनामा मात्रै राजस्व संकलन लक्ष्य पार भएको थियो ।
पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र समग्र आर्थिक गतिविधि पनि बढेकोले चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘राजस्व चुहावट नियन्त्रणसँगै विभागले तोकेको लक्ष्यलाई यस वर्ष भेटाउने गरी काम गरिरहेका छौँ।,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय सुधार भएको छ ।’
राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भन्सार प्रमुख रेग्मी बताउँछन् । गत आर्थिक वर्षको तथ्यांक हेर्दा प्रत्येक महिना सरदर ८४ प्रतिशत राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षका आउने महिनाहरूमा पनि लक्ष्य भेटाउने गरी भन्सारले योजनाबद्धरुपमा काम गरिरहेको प्रमुख रेग्मीले बताए । भन्सार टिमले रातदिन खटेर काम गर्दा सफलता मिलेको उनको भनाइ छ ।
भन्सार विभागले भैरहवा भन्सारलाई चालू आर्थिक वर्ष २०८२/०८३ का लागि १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख लक्ष्य तोकेको छ । वार्षिक लक्ष्यको आधारमा साउन महिनामा संकलन भएको राजस्वले ७.९५ प्रतिशत योगदान गरेको छ । भैरहवा भन्सारले गत आर्थिक वर्ष २०८१/०८२ मा विभागले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७.०७ प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पुरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात् १७.७५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।
भैरहवा भन्सार कार्यालयले कोभिड महामारीका बीचमा पनि आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । तर, त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९/०८० लक्ष्यको ४९.४१ प्रतिशत, आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ६३.२४ प्रतिशत, आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ८७.०७ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले बताए ।
साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ ।
बेलहिया नाकाबाट सबैभन्दा बढी मोटरसाइकल, जिप, कार, भ्यान, पेट्रोल, डिजेल, विद्युतबाट सञ्चालित जिप, कार भ्यान, शुद्ध फलाम (स्पोन्ज/फेरेस आइरन), डबल क्याब पीकअप गाडी, मोबाइल टेलिफोन सेट, एम.एस. विलेट, चकलेट, खाना पकाउने ग्यास, खाद्यान्नसँगै अन्य व्यापारिक वस्तुको आयात हुने गरेको छ । यस्तै यहाँबाट भटमास र सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न (धागो), सिमेन्ट, स्टिलका भाँडाकुँडा, खयर कत्था, पिना, तयारी चाउचाउ, नुडल्स, पास्ता, अदुवा, सुठो लगायतका जडीबुटी, खोटो रोजिन, प्लाइउड, विभिन्न वनस्पति उत्पादन तथा चोकर भुससमेत बेलहिया नाकाबाट निर्यात हुने गरेको देखिएको छ ।
तर, पछिल्लो तीन महिनादेखि स्टिलका भाँडाकुँडाको निर्यात भने ठप्प छ । भारतले स्टिलजन्य उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा गुणस्तरको लोगो अनिवार्य गरेपछि तीन महिनाभन्दा लामो समयदेखि नेपालबाट स्टिलका भाँडाकुँडा निर्यात रोकिएको हो । यसअघि उत्पादित वस्तुमा मात्र ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस) अनिवार्य थियो भने अहिले कच्चा पदार्थमा पनि बीआईएस खोजिएको छ । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ ।
मधेश आन्दोलन, नाकाबन्दी र कोभिड महामारीका बेलासमेत भैरहवा भन्सारले देशको कुल राजस्वमा ठुलो योगदान पुर्याएकाे थियो । बेलहिया नाका हुँदै चितवन, काठमाडौं लगायतका शहरमा हुने ढुवानी बुटवल–नारायणगढ सडक समयमा पूरा नहुँदा आयातमा कमी आएको व्यवसायीहरू बताउँछन् ।
नेपालगञ्ज भन्सारमा ७४ प्रतिशत मात्रै राजस्व संकलन
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ७४ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । १ अर्ब ८६ करोड ६५ लाख ४५ हजार हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ३८ करोड २८ लाख ६० हजार मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिए । गत वर्ष साउन महिनामा लक्ष्यको ७३.६७ प्रतिशत अर्थात् १ अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व संकलन भएको थियो।
लुम्बिनी प्रदेशको दोस्रो ठुलो नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेको थिएन।
लुम्बिनी प्रदेशको दोस्रो ठुलो नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेको थिएन। गत वर्ष लक्ष्यको ७४.६३ प्रतिशत राजस्व संकलन भएको थियो। २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार मात्रै राजस्व संकलन भएको थियो। नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मार्बल, ए.टी.एफ, जीप्सन, विभिन्न केमिकल, खाद्यान्न, तयारी कपडा, तरकारी, फलफूल आयात हुन्छ भने जडीबुटी, एसेन्सीयल आयल, दालचिनी, अलैंची, प्लाइउड, खोटो रोजीनलगायतका अन्य वस्तु भारततर्फ निकासी हुने गरेको छ।
पेट्रोलियम पदार्थ लगायत बढी राजस्व असुली हुने मालसामानको आयात नै कम भएका कारणले त्यसको नकारात्मक असर असुलीमा परेको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए। भन्सार विभागले नेपालगञ्ज भन्सारलाई चालू आर्थिक वर्ष २०८२/०८३ का लागि २४ अर्ब ५४ करोड लक्ष्य तोकेको छ।





About Us
प्रतिक्रिया